काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले तयारी नपुगेकाले २०८२ मङ्सिरभित्र काँग्रेसको १५औँ महाधिवेशन नहुने बताएका छन् ।
नेपाल प्रेस युनियन सिरहा शाखाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको आगामी महाधिवेशन समयमै नहुने स्पष्ट पारेका हुन् ।
“महाधिवेशनका लागि अहिलेसम्म सचिवालय पनि गठन भएको छैन । सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ भएको छ”, प्रवक्ता डा. महतले भने, “त्यसकारण महाधिवेशनको निर्धारित समय सर्छ ।”
विधानअनुसार म्याद थप गर्ने व्यवस्था भएकाले त्यहीअनुसार महाधिवेशनको समय कम्तीमा एक वर्ष थपिने उनको भनाइ थियो । अहिले हुलाकी राजमार्गअन्तर्गत मधेस प्रदेशका जिल्लामा काँग्रेसका नेताकार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया अभियान आफूले सुरु गरेको डा. महतले जानकारी दिए ।
फरक प्रसंगमा प्रवक्ता डा. महतले नेपालमा अब संवैधानिक राजतन्त्रको सम्भावना नरहेको स्पष्ट पारे । उनले वर्तमान कांग्रेस-एमाले गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको दाबी गरेका छन् ।