काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।
आज पुरातात्त्विक महत्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उनले पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्नुपर्नेमा जोड दिएका हुन् ।
उक्त हिटी कामपाको वडा नम्बर ७ गंगाहिटी मार्गमा पर्दछ । अनुगमनका क्रममा प्रमुख शाहले हिटीको प्राचीन पहिचान, उपयोग र अतिक्रमण, पानीको प्रवाह र निकासका बारेमा जानकारी लिएका थिए ।
भैरव हिटीभन्दा माथिल्लो भूगोलमा रहेको गंगाहिटीमा आउने पानीलाई भैरव हिटीमा आउने पानीको स्रोतका रूपमा उपयोग गर्न सुझाव प्राप्त भएपछि प्रमुख साहले पुरानो पानीको स्रोत पहिचान गरेर उपयोगको सम्भावना खोज्न निर्देशन दिएका हुन् ।
कामपा-७ का वडाध्यक्ष विमलकुमार होडाका अनुसार वडामा करिब १२ हिटी छन् । जसमध्ये आठ अस्तित्वमा छन् । वाहिटी, गंगाहिटी, गणेशधारा, भैरव हिटी र मित्र धारा वडामा भएका हिटी रहेका भन्दै संकटमा रहेका हिटीहरूको पुनरुत्थान र अस्तित्वमा नभएका हिटीहरूको खोजी भइरहेको उनले जानकारी दिए ।
“स्थानीय प्रतिनिधि र स्थानीयवासीले दिएको सूचनाका आधारमा कामपाले पुरिएको अवस्थामा हिटी फेला पारेको थियो । हिटीमाथि दुईतले पक्की संरचना थियो । यो संरचनालाई टोल सुधार समितिले भोगचलन गर्दै आएको थियो । यसको माथिल्लो तलामा कार्यालय र जमिन तलामा व्यावसायिक सटर थिए”, उनले भने । टोल सुधार समितिको समन्वयमा पक्की संरचना हटाएर हिटीको उत्खनन सुरु गरिएको हो । सम्पदा तथा पर्यटन विभागले यही चैत १० गतेदेखि दैनिक १० जना कामदार परिचालन गरेर उत्खनन गरिरहेको छ ।
उत्खननका क्रममा अहिलेसम्म हिटीको ‘माअप्पा’ (मुख्य पर्खाल) र ढुंगाधारा भेटिएको छ । करिब सात फिट गहिराइसम्मको उत्खननपछि यी संरचना भेटिएका हुन् । अभिलेख उद्धृत गर्दै सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राईले भनिन्, “यो अठारौँ शताब्दीमा निर्माण गरिएको हो । वि।सं।१९४० मा यसको जीर्णोद्धार गरिएको पाइन्छ । हिटीको लम्बाइ २५ फिट तीन इञ्च र चौडाइ १५ फिट रहेको विवरण छ । उत्खनन कार्य नियालिरहेका स्थानीयका अनुसार २०२८ सालतिर चक्रपथको काम गर्दा पानीको स्रोत बन्द भयो । अहिले यहाँ खानेपानीको पाइप जडान भएको छ ।”