५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी : शान्तिको मुहान र मेरो अनुभव

अ+ अ-

लुम्बिनी भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल हो। ईसापूर्व ६२३ मा यहाँको सुन्दर र पवित्र बगैंचामा माता मायादेवीको कोखबाट बुद्ध धर्मका प्रवर्तक तथा शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्म भएको थियो। जन्मनासाथ उनले सात पाइला हिँडेर मानव जातिका लागि यही ठाउँबाट युगान्तकारी सन्देश व्यक्त गरेका थिए। यो पवित्र भूमि अहिले विश्वभरका बौद्धमार्गी र शान्तिप्रेमी सबैका लागि विश्व शान्तिको स्रोतका रूपमा चिनिन्छ। सन् १९९७ देखि यो स्थान विश्व सम्पदा सूचीमा पनि सूचीकृत भएको छ। हरेक वर्ष विश्वभरबाट लाखौँ तीर्थयात्री, पर्यटक र अध्येताहरू लुम्बिनीको भ्रमण गर्छन्।

विश्वभरका बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी निकै महत्त्वपूर्ण तीर्थस्थल हो। मायादेवी र भगवान् बुद्धप्रति आस्था राख्ने भएकाले हिन्दुहरूका लागि पनि लुम्बिनी महत्त्वपूर्ण धार्मिक गन्तव्य बनेको छ। यसमा कसैको दुई मत छैन। लुम्बिनीमा नेपालका कुनै पनि ठाउँबाट र विदेशबाट समेत पर्यटकहरू आउने प्रमुख गन्तव्य हो। यसले नेपालको पर्यटन र रोजगारी क्षेत्रमा ठूलो योगदान पुर्‍याउँछ। नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको कुरा गर्दा लुम्बिनी सधैं अग्रपंक्तिमा आउँछ। यही लुम्बिनीको नामबाट प्रदेश नं. ५ को नाम पनि लुम्बिनी प्रदेश राखिएको छ।

सुन्दा निकै रमाइलो लाग्ने लुम्बिनी भ्रमणमा भगवान् गौतम बुद्धको जन्मस्थान मायादेवी मन्दिरभित्र जन्मस्मारक शिला र मायादेवीको मूर्ति छ। यो सुन्दर मन्दिरभित्र पसेपछि जस्तोसुकै अवस्थाको मानिसको मन पनि शान्त हुन्छ। शीतलता प्राप्त हुन्छ। मायादेवी मन्दिरको छेउमा अशोक स्तम्भ छ। यो स्तम्भ ईसापूर्व २४९ मा सम्राट अशोकले स्थापना गरेको किंवदन्ती छ। यस स्तम्भमा कुँदिएको शिलालेखले गौतम बुद्धको लुम्बिनीमा जन्म भएको ऐतिहासिक प्रमाण दिन्छ। यो शिलालेखलाई सबैभन्दा महत्त्वपूर्ण र आधिकारिक ऐतिहासिक अभिलेख मानिन्छ।

मायादेवी मन्दिरको नजिकै पुष्करणी पोखरी छ। जहाँ भगवान् गौतम बुद्धले नुहाएको किंवदन्ती छ। पुष्करणी पोखरीको छेउमा रहेका रूखहरूको तल सुन्दर चौतारी बनाइएको छ। यहाँ बसेर पाँच मिनेट मात्र ध्यान गर्दा पनि अद्भुत अनुभूति हुन्छ। प्रकृतिका ठूला-ठूला पीपल, पाकरजस्ता रूखको छायाँमा बसेर आँखा बन्द गरी आफैँमा हराउँदा कति मीठो अनुभव हुन्छ ! वरिपरिका सुन्दर बगैंचामा हिँड्दा समय बितेको पत्तै हुँदैन। मायादेवी परिसरबाट बाहिर निस्केपछि सुन्दर बगैंचाको बाटो हुँदै अखण्ड शान्ति दीप प्रज्वलन गरिएको ठाउँसम्म पुग्न सकिन्छ। त्यहाँ जाने बाटोमा लुम्बिनी लेखिएको फोटो खिच्ने ठाउँ छ। गौतम बुद्धको मूर्ति छ। संग्रहालय छ। ठूलो घण्टी छ। यहाँ पुगेपछि कृत्रिम नदी बनाइएको छ, जहाँ डुंगामा सयर गर्न सकिन्छ।

लुम्बिनी परिसरमा जर्मनीले बनाएको विशाल द ग्रेट लोटस स्तूप छ। थाइल्याण्डले बनाएको राजकीय थाइ विहार छ। नेपालले बनाएको युनाइटेड टुंग्राम विहार छ। भारतको कोलकाताले बनाएको महाबोधी समाज विहार छ। सुन्दर अस्ट्रियन विहार छ। म्यानमारको गोल्डेन स्तूप र विहार छ। चिनियाँ विहार छ। अन्तर्राष्ट्रिय भिक्षुणी विहार नेपाल छ। डुबक्युड छोलिङ विहार छ। श्रीलंकाली विहार छ। धम्म जननी विपश्यना केन्द्र पनि छ। त्यहाँ १० दिनसम्म नियमित ध्यान साधना हुन्छ। बुद्ध धर्म अनुयायीका लागि सबैभन्दा महत्त्वपूर्ण विपश्यना ध्यानको ज्ञान लिन जीवनमा कम्तीमा एकपटक १० दिन समय निकालेर अनुभव गर्न सके राम्रो हुन्छ। यहाँ नाम नलेखिएका थुप्रै विहारहरू पनि छन्।

लुम्बिनी विकास कोष र प्रा. केन्जो टांगेले तयार पारेको लुम्बिनी विकास गुरुयोजना नेपाल सरकार र संयुक्त राष्ट्रसंघबाट सन् १९७८ मा पारित भएपछि यो कार्यान्वयनमा छ। लुम्बिनी निकै राम्रो छ। यहाँका संरचनाहरू मनमोहक छन्। दैनिक हजारौँ भक्तजनले भ्रमण गर्ने लुम्बिनीमा स्थानीय पक्षलाई जोड्न सके सुनमा सुगन्ध थपिन्छ।

मेरो सन्दर्भमा लुम्बिनी भ्रमण करिब १०/१२ पटक भएको होला। सधैं बिहान ९/१० बजेको समयमा गएर फर्किन्थ्यो। दिउँसो मौसम अनुकूल समयमा जाँदा रमाइलो हुन्थ्यो। यसपटक भने अलि फरक समयमा, बेलुका ६ बजेपछि र बिहान साढे पाँच बजेको ब्रह्ममुहूर्तमा घुम्न गएँ। मलाई सधैं कौतुहलता हुने गर्थ्यो- बेलुका र बिहान लुम्बिनीमा के हुन्छ होला ? कस्ता-कस्ता कार्यक्रम हुन्छन् होला? साँझमा जाँदा सुनसान नै पाइयो। यहाँ खासै उत्साहपूर्ण र रमाइला कार्यक्रम भएको देखिएन। बिहान जाँदा सरसफाइ कर्मचारीहरू आफ्नो काममा लागेको देखियो। धेरैजसो विहारहरू ८ बजेपछि मात्र खुल्ने सूचना टाँसिएको थियो। तर, दर्शनार्थीहरू भने बिहानैदेखि उपस्थित थिए।

लुम्बिनीमा वैशाखदेखि असोजसम्म गर्मी हुन्छ। यहाँको तापक्रम ४० डिग्रीभन्दा माथि पुग्छ। गर्मी मौसममा दर्शनार्थीका लागि बिहान र साँझको शीतल समयमा घुम्न सजिलो हुन्छ। त्यसैले त्यो व्यवस्था मिलाउन सके राम्रो हुन्छ। आन्तरिक र बाह्य पर्यटकलाई थप आकर्षित गर्न लुम्बिनीमा छायाँ भएका बस्ने ठाउँको व्यवस्था गर्नुपर्छ। खानेपानी र शौचालयको पर्याप्त व्यवस्था गर्नुपर्छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ। साँझको समयमा नजिकका नेपाली उत्पादनको व्यापारका लागि निश्चित ठाउँ छुट्याएर मानिसहरूलाई प्रोत्साहन गर्नुपर्छ। जस्तै, लुम्बिनी वरपर पाइने पटरबाट बनेका शुकुल, ढकिया, हस्तकलाका सामानहरूको व्यापार गरेर आर्थिक लाभ लिन सकिन्छ। तर, यहाँ धेरै विदेशी सामानको व्यापार भएको देखियो। पर्यटकलाई आकर्षित गर्ने ध्यानलगायत बुद्ध धर्मसँग सम्बन्धित क्रियाकलाप पनि निकै कम देखिए।

लुम्बिनीको नाम हामीले विश्वमा जसरी बेचिरहेका छौँ, त्यसको पर्याप्त लाभ स्थानीयले लिन सकेको जस्तो देखिएन। नजिकैका बस्तीमा लुम्बिनीप्रति कम आकर्षण भएको हो कि? लुम्बिनी घुम्न आउने बाटोको सौन्दर्यीकरणमा खासै चासो देखिएन। बाटोको छेउछाउमा भैंसी गोठ, गुइँठा सुकाउने प्रयोग धेरै देखियो। लुम्बिनीका प्रवेशद्वारमा पर्यटकले कहाँ-कहाँ जाने भनेर मार्गचित्र राखिएको देखिएन।

लुम्बिनी साँच्चै राम्रो छ। यसलाई अझ राम्रो बनाउन जरुरी छ। सबैभन्दा पहिले सरसफाइमा ध्यान दिनुपर्छ। लुम्बिनी प्रवेशद्वारमा यहाँबाट कहाँ जाने भनेर स्पष्ट मार्गचित्र राख्नुपर्छ, जसले भित्र पसेपछि अलमल नहोस्। चोक-चोकमा सूचना दिने कर्मचारी र सूचना बोर्ड राख्नुपर्छ। छायाँसहितको बस्ने, पानी खाने र शौच गर्ने ठाउँको पर्याप्त व्यवस्था हुनुपर्छ। फोहोर फाल्ने निश्चित ठाउँको व्यवस्था गर्नुपर्छ।

बाहिरको सौन्दर्यीकरणका लागि नजिकका स्थानीय तहहरू- लुम्बिनी सांस्कृतिक नगरपालिका, मायादेवी गाउँपालिका, गैडहवा गाउँपालिकालगायतसँग मिलेर सरसफाइ र सुन्दर बनाउनुपर्छ। पर्यटकलाई आकर्षित गर्ने र खर्च गर्न प्रेरित गर्ने ठाउँको व्यवस्था गर्न सके लुम्बिनीबाट स्थानीयले आर्थिक र व्यावसायिक लाभ लिन सक्छन्। त्यसैले नेपालको प्रमुख पर्यटकीय गन्तव्य बनाउन सम्बन्धित पक्षको ध्यान जान जरुरी छ।

प्रतिक्रिया दिनुहोस