काठमाडौँ । भारतको आसाम राज्यबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई शुक्रबार नेपाल ल्याइएको छ। नेपाल प्रहरीको विशेष ब्युरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिहीबार आसामबाट पक्राउ गरेको थियो। प्रसाईँलाई शुक्रबार बिहान गाडीमार्फत झापाको काँकडभिट्टा नाका हुँदै नेपाल भित्र्याइएको हो।
काँकडभिट्टा नाकामा उनलाई ल्याउँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा स्कर्टिङ गरेको थियो। नाकामा सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो भने प्रसाईँका केही समर्थक र आफन्तहरू पनि भेला भएका थिए। नेपाल भित्रिए लगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको थियो। प्रहरी स्रोतका अनुसार, उनलाई आजै चन्द्रगढी विमानस्थलबाट बुद्ध एअरको साढे ११ बजेको फ्लाइटमार्फत काठमाडौं ल्याइँदै छ।
प्रसाईँ राजसंस्था पुनर्स्थापनाको माग राख्दै संयुक्त जनआन्दोलन परिचालन समितिको नेतृत्वमा चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमान्डर थिए। उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो। प्रदर्शनका क्रममा प्रसाईँले प्रहरीलाई गाडीले किच्ने प्रयास गरेको आरोप छ। त्यसपछि उनी फरार भएका थिए।
प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। उनी भक्तपुर, सिन्धुली हुँदै झापाको बिर्तामोडस्थित विएण्डसी मेडिकल कलेज पुगेको र त्यहाँबाट भारत भागेको खुलेको छ। फरार भएका बेला उनले सामाजिक सञ्जालमार्फत भिडियो पोस्ट गरी आफू लुकेर नबसेको दाबी गर्दै आएका थिए। यद्यपि, प्रसाईँको सचिवालयले उनले आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेको छ, जसलाई प्रहरीले पुष्टि गरेको छैन।
काठमाडौं ल्याएपछि प्रसाईँविरुद्ध संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगजस्ता अभियोगमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। एक प्रहरी अधिकृतका अनुसार, तीनकुने प्रदर्शनमा प्रहरीमाथि गाडी हाँकेको घटनालाई लिएर ज्यान मार्ने उद्योगको मुद्दा पनि चल्न सक्छ।
प्रसाईँलाई काठमाडौं ल्याउने तयारीसँगै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। यो घटनाले राजसंस्था पुनर्स्थापनाको मागलाई लिएर भएको आन्दोलन र त्यसको कानुनी परिणामबारे थप बहस सिर्जना हुने देखिएको छ।
सम्बन्धित समाचार : भारतको आसाम राज्यबाट पक्राउ परे दुर्गा प्रसाईँ
सम्बन्धित समाचार : ‘दुर्गा प्रसाईँको खोजी हुँदैछ’- नेपाल प्रहरी