काठमाडौँ । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अर्थ मन्त्रालय पुगेकी छिन् ।
मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको छ । शिक्षकको सेवा सुविधाको विषय अर्थ मन्त्रालयसँग पनि जोडिएकाले शिक्षामन्त्री भट्टराई अर्थ मन्त्रालय पुगेकी हुन् ।
यसअघि शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले पनि शिक्षकका कतिपय माग अबको बजेटबाट समाधान गर्ने गरी गृहकार्य भइरहेको बताएका थिए ।
शिक्षक(कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गरी काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षक र सरकारका प्रतिनिधिहरुबीच लगातार संवाद भइरहेको छ । अर्थ मन्त्रालयमा छलफल सकिएपछि शिक्षक र सरकारबीच संवाद हुने बताइएको छ ।