काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रोकिएका योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन् ।
झापामा गौरादह नगर अस्पतालको शिलान्यास गर्दै उनले एसियाली राजमार्ग निर्माण, हुलाकी र मदन भण्डारी राजमार्ग निर्माण तीव्र पारिने बताए ।
‘अब अहिले बजेट बनाउने बेला भएको छ, अर्थतन्त्र बिग्रेको अवस्थामा थियो’, उनले भने, ‘बल्ल हामीले बिगारेको अर्थतन्त्र सही दिशामा ल्याएका छौँ, नयाँ काम र ठूला योजना ल्याउन अवस्था छैन ।’
कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा सरकारले काम गरिरहेको उनको भनाइ छ । सहकारी मार्फत कृषिको अनुदान र युवाहरूलाई स्टार्टअप कर्जाका लागि आवेदन दिन सकिने ओलीले बताए ।
झापा(५ बाट निर्वाचित प्रम ओलीले बिस्तारै डायलासिस, आँखा उपचारसहितका उपचार सुरु गरेर गौरादह अस्पताललाई सुविधा सम्पन्न बनाउने बताए । १५ शय्याको यो अस्पताल २०८३ माघमा सम्पन्न गर्ने गरी १२ करोड ५९ लाख ७९ हजारको लागतमा ३२ कठ्ठा क्षेत्रफलमा निर्माण हुने मेयर छत्रपति सुवेदीले जानकारी दिए ।
कार्यक्रममा अस्पतालका जग्गादाता परिवारलाई पनि सम्मान गरिएको छ ।