काठमाडौँ । भारतको जयपुरस्थित सवाई मानसिंह स्टेडियममा शनिबार भएको आइपिएल २०२५ को २८औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।
टस जितेर पहिला बलिङ रोजेको बैंगलोरले राजस्थानलाई ४ विकेटको क्षतिमा १७३ रनमा सीमित राख्यो। जवाफमा बैंगलोरले १७.४ ओभरमै लक्ष्य पूरा गर्दै शानदार जित निकालेको हो।
बैंगलोरका लागि विराट कोहलीले टी-२० करियरको १०० औँ अर्धशतक पूरा गर्दै ६२ रनको महत्वपूर्ण पारी खेले। फिल साल्टले आक्रामक ब्याटिङ गर्दै ३३ बलमा ६५ रन जोडे भने देवदत्त पडिक्कल ४० रनमा अविजित रहे। राजस्थानका यशस्वी जयसवालले ७५ रन बनाएर चम्किए पनि टिमलाई जित दिलाउन सकेनन्।
यो सिजनमा बैंगलोरको यो छैटौँ खेल हो। जसमा उसले चौथो जित दर्ता गर्यो। टोलीले जितेका सबै खेलहरू घरेलु मैदानबाहिर खेलेका हुन् भने दुई हार घरेलु मैदानमै भोगेको हो।
राजस्थानका लागि यो छैटौँ खेलमा चौथो हार हो। टिमले यसअघि दुई खेलमा मात्रै जित निकालेको छ।
आइतबार डबल हेडर अन्तर्गत दिनको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दै छन्।