काठमाडौँ । इजरायलको मोसाद गुप्तचर निकायका २५० भन्दा बढी पूर्व अधिकारीले गाजा पट्टीमा जारी युद्ध तत्काल अन्त्य गर्न र त्यहाँ रहेका इजरायली बन्धकहरूको रिहाइका लागि आग्रह गरेका छन् ।
उनीहरूले एक पत्रमा हस्ताक्षर गरी युद्ध अन्त्य र बन्धकको रिहाइका लागि आग्रह गरेको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्युजले जनाएको छ ।
मोसादका तीन जना पूर्व प्रमुख डानी याटोम, एफ्रेम हालेभी र तामिर पार्डोका साथै उक्त सेवाबाट निवृत्त भएका अन्य दर्जनौँ अनुभवी अधिकारीले हस्ताक्षर गरेका छन् ।
मोसादका पूर्व सदस्यहरूले पत्रमा भनेका छन्, “निरन्तरको लडाइँले बन्धक र हाम्रा सैनिकको जीवनलाई खतरामा पार्छ र त्यो दुःखको अन्त्य गर्ने सम्झौतामा पुग्नका लागि सबै सम्भावनाहरू खोजिनुपर्छ । साहसी निर्णय गर्न र देशको सुरक्षाका लागि जिम्मेवार भएर काम गर्न हामी सरकारलाई आह्वान गर्दछौँ।”
उनीहरूले आरक्षित वा सेवा निवृत्त सयौँ सैन्य एयर सदस्यहरूको पक्षमा समर्थन व्यक्त गर्दै शत्रुताको अन्त्य र बन्धकहरूको फिर्तीको लागि आह्वान गरेका हुन् ।
बिहीबार एयर क्रूहरूको पत्र प्रकाशित भएपछि इजरायली वायु सेनाका कमान्डर टोमर बारले हस्ताक्षरकर्ताहरूमध्ये सक्रिय रिजर्भिस्टहरूको सेवा समाप्त गर्ने निर्णय गरेका थिए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बर्खास्तीको निर्णयको समर्थन गर्दै हस्ताक्षरकर्ताहरूलाई ‘साना अतिवादी समूह’ को संज्ञा दिएका छन् भने उनीहरूले ‘इजरायली समाजलाई भित्रबाट तोड्न’ प्रयास गरिरहेको बताएका छन् ।
आइतबार पनि करिब २०० इजरायली सैन्य चिकित्सकले युद्ध रोक्न र बन्धकहरूलाई घर फर्काउन माग गर्दै एउटा निवेदनमा हस्ताक्षर गरेको पत्रको प्रतिलिपि प्रकाशित गर्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
“गाजामा जारी लडाइँको मुख्य उद्देश्य कुनै सुरक्षा उद्देश्य बिना राजनीतिक र व्यक्तिगत स्वार्थ पूरा गर्नु हो र यसले सैनिक र बन्धकहरूको जीवनलाई खतरामा पार्छ,” विज्ञप्तिमा भनिएको छ।
हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणका क्रममा २५१ जनालाई गाजामा बन्धक बनाएको थियो । हाल गाजामा ५९ जना इजरायली बन्धक रहेका छन् र तीमध्ये २४ जना अझै जीवित रहेको अनुमान गरिएको छ ।
इजरायल र हमासबीच गत जनवरीमा तीन चरणको युद्ध विराम सम्झौता भएको थियो । तर, पहिलो छ हप्ताको वार्ता मार्च १ मा सकिएपछि दोस्रो चरणको वार्तामा गतिरोध उत्पन्न भएको छ । त्यसपछि इजरायलले युद्ध विरामको गतिरोधका बीच मार्च १८ मा गाजामा सैन्य कारबाही पुनः सुरु गरेको थियो ।