काठमाडौँ । सेनेगलका खेलाडीहरू चम्किएको दिन काठमाडौँ रेजर्सले सोमबार नेपाल सुपर लिग (एनएसएल) २०२५ मा एफसी चितवनमाथि महत्त्वपूर्ण जितसहित प्लेअफ सम्भावना कायम राखेको छ ।
सेनेगलका दुई खेलाडी बकारी माने र अमादोउ डिओपको गोलमा काठमाडौँले दश खेलाडीमा समेटिएको चितवनलाई २-० ले पराजित गरेको हो ।
यसै खेलमार्फत एनएसएलमा डेब्यु गरेका सेनेगलकी गोलकिपर चिएख गुएले पनि केही राम्रो बचाउ गरेका छन् ।
काठमाडौँका लागि बकारी मानेले ३२औँ मिनेटमा फ्रिकिकमा उत्कृष्ट गोल गरे । यस्तै अमादोउ डिओपले ७१औँ मिनेटमा रोहन कार्कीको पासमा गोल गरे ।
लिग चरणमा सबै ६ खेल खेल्ने पहिलो टिम बनेको काठमाडौं मिश्रित नतिजापछि ८ अंक जोडेर चितवनलाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लेको हो । काठमाडौँले २ खेल जित्दा २ खेलमै पराजित भयो भने उति नै खेल बराबरी खेलेको थियो । काठमाडौँको यो पोजिसन कायम रहन्छ कि रहँदैन भन्ने थाहा पाउन भने लिग चरणका बाँकी चार खेलको नतिजा पनि पर्खनुपर्नेछ ।
काठमाडौँका कप्तान प्याट्रिक डे वाइल्डले जितले सधैँ खुसी दिने बताउँदै अब अर्को खुसीका लागि कुर्नुपर्ने बताएका छन् ।