काठमाडौँ । नेकपा माओवादी केन्द्रले हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान फेरि सुरु गरेको छ । अभियानको लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु नवलपुरको गैडाकोट पुगेका छन् ।
नयाँ वर्ष २०८२ सालको पहिलो दिनबाट अभियान फेरि सुभारम्भ गरिएको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । अभियान लागि पुगेका प्रचण्डसहितका नेताहरुलाई गैडाकोट नेता कार्यकर्ताले स्वागत गरेका छन् ।
‘प्रचण्ड’लगायतका नेताहरू आज र भोलि नवलपुरका जनतासँग रहनेछन् । माओवादीको यो अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको थियो । निरन्तर गर्ने तयारी गरेपछि माओवादी अहिले केही समय रोक्दै फेरि सुरु गर्दै आइरहेको छ ।
अभियान सुदूरपश्चिमको कञ्चनपुर पुगेर टुंग्याउने माओवादीको तयारी छ । अभियान प्रभावकारी भएको र जनतासँग पार्टीलाई जोड्न सफल भएको माओवादीको नेताहरुको दाबी छ । यो अभियानमा पार्टीका उपमहासचिव तहसम्मका सबै नेताहरुलाई अनिवार्य सहभागी हुँदै आइरहेका छन् ।
आजबाट सुरु भएको अभियानमा पूर्वउपराष्ट्रपति समेत रहेका नन्दबहादुर पुन पनि जोडिएका छन् । यसअघि पार्टीको बैठकहरुमा सक्रिय भएपछि कुनै जिम्मेवारी नतोकिएको कारणले पुन अभियानमा हिँडेका थिएनन् ।
गत साता बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्षमा मनोनीत गरेपछि पुन पार्टी अभियानमा अध्यक्ष प्रचण्डसँगै हिँड्न थालेका हुन् ।