काठमाडौँ । अवैध लागू औषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । सिन्धुली, झापा लगायतका जिल्लाबाट ५ जना पक्राउ परेका हुन् ।
सुनकोशी गाउँपालिका-१ आँपघारीबाट अवैध लागू औषध गाँजा करिब ८ सय ४६ ग्राम, नगद ५२ हजार ५ सय रुपैयाँ र मोबाइल २ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनकोशी गाउँपालिका-२ ओख्रेनी बस्ने १९ वर्षीय उमेश बुर्जा र २६ वर्षीय मोहन बहादुर बुर्जा रहेका छन् । प्रहरी चौकी दुम्जाबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
त्यस्तै, झापा, गौरादह नगरपालिका-५ सृजना टोलबाट नियन्त्रित लागू औषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित कमल गाउँपालिका-७ बस्ने २८ वर्षीय विशाल लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले मे.११ प १५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।
त्यसै गरी, नवलपरासी पूर्व, गैँडाकोट नगरपालिका-३ अरेलीघारीबाट अवैध लागू औषध गाँजा करिब ५ किलोग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ रिसिङ गाउँपालिका-२ काउँशिवपुर घर भई हाल चितवन भरतपुर महानगरपालिका-२० चनौली बस्ने ३४ वर्षीय विशाल थापा मगर र १९ वर्षीय रिजन थापा मगर रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट ढेडेनीबाट खटिएको प्रहरीले बुलिङटारबाट चितवनतर्फ आउँदै गरेको ग.२१ प ६१८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित सोमबार बिहान पक्राउ गरेको हो ।
हाल पक्राउ गरेका पाँच जनालाई आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।