काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर ‘अर्थतन्त्र समस्याग्रस्त भएको’ भन्दै अर्थमन्त्री पौडेललाई सोधेकी थिइन् ।
अर्थमन्त्री पौडेलले सांसद गौतमलाई संसद सचिवालय मार्फत पठाएको जवाफमा मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको बताएका हुन् ।
‘मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैन । अधिकांश आर्थिक परिसूचकहरू सकारात्मक रहेकाले उक्त कुरा पुष्टि भएको छ । अर्थतन्त्रलाई चलायमान र गतिशील बनाइ आर्थिक वृद्धि तथा आर्थिक स्थायित्व कायम गर्ने विषयमा सरकार प्रतिबद्ध छ’ अर्थमन्त्री पौडेलको जवाफ छ ।
‘बैंक तथा वित्तीय संस्थाहरू जस्तै कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा गरेको छ भने, पोखरा फाइनान्स समस्या उन्मुख छ । अर्थतन्त्र समस्याग्रस्त भएको यो संकेत हो । यस्ता समस्या कहाँ कहाँ छन् ? अर्थतन्त्रमा देखिएका यी समस्या समाधान गर्न सरकारका रणनीति के हुन ? भन्दै गौतमले प्रश्न गरेकी थिइन् ।
जवाफमा अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको प्रभावकारी नियमन नेपाल राष्ट्र बैंकबाट भइरहेको बताएका छन् । कुनै बैंक तथा वित्तीय संस्था समस्याग्रस्त देखिएमा नेपाल राष्ट्र बैंकबाट तत्काल सुधार परीक्षण गरी आवश्यक नियमन गर्ने कार्य नियमित रूपमा हुँदै आएको जवाफमा उल्लेख छ ।
अर्थतन्त्रमा देखिएका वास्तविक समस्याहरू पहिचान गर्न र त्यस्ता समस्याहरूको लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग बनेको स्मरण गर्दै उक्त आयोगको प्रतिवेदनमा दिइएका सुझावहरू क्रमशः कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाइएको छ ।