काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्नेबारे छलफल थालेका छन्।
विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको अगुवासँग महामन्त्रीद्वयले छलफल गरेका हुन्।
सानेपामा भएको छलफलमा शिक्षकका माग सम्बोधनको लागि पहलकदमी लिने प्रतिबद्धता जनाएका छन्। आन्दोलनरत शिक्षकहरूसँग सरकारले गरेको वार्ता अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन।
शिक्षकहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीले चासो नदेखाएको भन्दै काँग्रेसभित्र असन्तुष्टि बढ्दै छ।
केही दिन अघि शिक्षक प्रतिनिधिहरू काँग्रेस सभापति शेरबहादुर देउवा निवास पनि पुगेका थिए। देउवाले शिक्षकको माग पूरा गर्ने आश्वासन दिएर फर्काएका थिए।
महामन्त्री थापाले शिक्षकहरूको माग सम्बोधन गर्नको लागि सरकारलाई यसअघि नै दुई विकल्प अघि सारेका थिए। उनले कानून नबनाएरै पनि शिक्षकको अधिकांश माग सम्बोधन गर्न सकिने जनाएका थिए।
मन्त्रिपरिषद्ले गर्न सक्ने मागलाई सम्बोधन गरेर बाँकी कानून बनाउने प्रतिबद्धतासहित शिक्षकहरूलाई कक्षाकोठामा फर्काउनुपर्ने उनको प्रस्ताव थियो।