पाल्पा। नेपाली सेनाले गत चैत्र २८ गते देखि सुरु गरेको तेस्रो ऐतिहासिक गोरखा-जितगढी पदयात्रा पाल्पा पुगेको छ।
ऐतिहासिक गढी, किल्ला, दरबारको संरक्षण तथा प्रवर्द्धन एवं इतिहास बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सुरु भएको पदयात्रामा सहभागी टोली मंगलबार बिहान रामपुर पुगेको हो ।
गोरखा दरवारबाट सुरु भएको पदयात्रा तनहुँको सटिघाट, तनहुँसुर, ध्यानुङ देउराली, स्याङ्जाको साँखर केलादी हुँदै छैटौँ दिन रामपुर नगरपालिका-३ को केलादी बाट पाल्पा प्रवेश गरेको हो। राष्ट्रिय झण्डाको साथमा नेपाल एकीकरणको दौरान स्थापना भएका ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी गण, सबुज, पुरानो गोरख) र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजा र टर्चसहित पदयात्रामा निस्किएको टोलीलाई स्वागत गर्न पञ्चे बाजासहित जनप्रतिनिधि, जिल्लाका सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला केलादी पुगेका थिए।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापा, रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापा, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, २२ नम्बर बाहिनी बुटवलका सहायक रथी पुरुषोत्तम खड्का, दी फेमस महिन्द्र दल गणका गणपति भूपेन्द्र गुरुङ, राष्ट्रिय सेवा दल र नेपाल स्काउटमा आबद्ध विद्यार्थी, भूपू सैनिक, रामपुर नगरपालिकाका कर्मचारीसहित स्थानीयले स्वागत गरेका थिए।
केलादी पुल बाट चापाकोट नगरपालिका ६ का वडा अध्यक्ष तारादेवी पोख्रेलले रामपुर नगरपालिका नगर प्रमुख रमणबहादुर थापालाई नेपालको झण्डा, श्री नम्बर ३ राजदल गणका प्रमुख सेनानी रवि खड्काले २२ नम्बर बाहिनी बुटवलका सहायक रथी पुरुषोत्तम खड्कालाई टर्च हस्तान्तरण गरेका थिए।
पदयात्रामा सहभागी टोलीलाई लखन पार्क, खोप्टार, सदावर्त र देविस्थानमा सांस्कृतिक झाँकी सहित विभिन्न क्लब तथा समूहले फूलमालासहित स्वागत गरेका थिए। रामपुर-४ देविस्थान स्थित कालिका माविको प्रांगणमा रामपुर नगरपालिकाले कार्यक्रम गरी स्वागत गरेको थियो। जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नेपाली सेनाले सञ्चालन गर्दै आएको पदयात्राले नयाँ पुस्तालाई इतिहासको बारेमा जानकारी दिन तथा ऐतिहासिक गढीलाई पर्यटनसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए। ऐतिहासिक गढी तथा किल्लाको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने बताए।
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नेपाल र नेपालीलाई चिनाउने ऐतिहासिक धरोहरको संरक्षण गर्नु आवश्यक रहेको बताए।
प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले पदयात्राले नेपालीको वीरताको पहिचान दिन, गढीहरूको संरक्षण गर्न, भावी पुस्ता इतिहास बारे जानकारी दिन र सुरक्षा निकाय एवं नागरिक बिचको सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने बताए।
श्री नं. २२ बाहिनीका सहायक रथी पुरुषोत्तम खड्काले इतिहासको सम्वद्र्धन तथा प्रवर्द्धन गरी भावी पुस्ताहरूको लागि हस्तान्तरण गर्ने, राष्ट्रिय एकताको भावना थप प्रगाढ बनाउने उद्देश्यले तीन वर्षदेखि पदयात्रा निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिए।
११ औँ दिनको पदयात्रा तीन सय पाँच किलोमिटर दुरी पार गर्दै वैशाख ७ गते जितगढी पुगेर सकिने छ। नेपाली सेनाले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोत, गढी, किल्लाको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउन गत वर्षदेखि पदयात्रा सुरु गरेको थियो। पाल्पामा रहेका ऐतिहासिक गढी, किल्ला, युद्धस्थल तथा पदमार्गको सेनाले ६ दिन लगाएर पदयात्रा गर्ने दी फेमस महिन्द्र दल गणका गणपति भूपेन्द्र गुरुङले जानकारी दिए।
पदयात्रा टोली मंगलबार केलादीघाट बाट देवीस्थान, श्रीनगर होटेल, दर्छा सीताकुण्ड, टुनी भञ्ज्यांङ, बेलडाँडा, सिलुवा, पिलुवा जब्गादी हुँदै विरकोट सम्मको ३५ किलोमिटर यात्रा गर्ने छ।
बुधबार विरकोट बाकुमगढी देउराली, हुमिन देविनगर, झडेवा जगत गोठादी, हुँदै माथागढी सम्मको ३९ किलोमिटर यात्रा गर्नेछ। बिहीबार माथागढी, गोठादी, झडेवा हर्नेटार, मर्मरा शिकारकोट, दमार, सराई माडी, दमकडा हुँदै बाँसटारी प्रभास ३५ किलोमिटर यात्रा गर्ने छ। शुक्रबार प्रभास, लामडाँडा, बर्तुङ, तानसेन, काजीपौवा, पुनः प्रभास आएर १७ किलोमिटर यात्रा गरेर बास बस्ने छ। सोही दिन तानसेनका प्रमुख स्थानको अवलोकन तथा कर्णेल उजिर सिंह थापाले निर्माण गरेको भगवती मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ। शनिबार प्रभास डुम्रे, मस्याम हटिया, मरेक, रानीवास दोभान सम्मको ३२ किलोमिटर यात्रा गर्ने छ।
आइतबार नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरी विजय उत्सवको दिन पदयात्रा टोलीले दोभान नुवाकोटगढी देउरालीमा पुगेर बुटवलको टोली तारादल गणलाई झण्डा हस्तान्तरण गरी जितगढी विजय उत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ। पदयात्रामा ५३ जनाको नेपाली सेना सहभागी रहेको सेनानी जितबहादुर कार्कीले बताए । तीन वर्षदेखि पदयात्रामा सहभागी हुँदै आएका अभियन्ता वासुदेव डल्लाकोटीले नेपाल एकीकरणको समयमा प्रयोग गरिएका अधिकांश स्थानका गढी तथा किल्ला, पुराना ढुंगेधारा, पाटी पौवाहरू हराउँदै गएको भेटिएको बताए ।