काठमाडौँ । शीर्ष टोली प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अन्नपूर्ण क्लब (आरसिटी) माथि कठिन जित निकालेको छ।
एन्फा मैदान सातदोबाटोमा मङ्गलबार भएको खेलमा प्लानिङ ब्वाइजले आरसिटीलाई १-० गोलले हरायो । प्लानिङ ब्वाइजको जितमा फागुराम थारूले आठौँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो ।
लगातार छैटौँ जितसँगै शीर्षस्थानमा रहेको प्लानिङ ब्वाइजले ६ खेलबाट १८ अंक बनाएको छ । समान खेलबाट आरसिटीले चार अंक बनाएको छ । लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ ।
लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।