काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमकी ग्लोबल लिडर घोषित भएकी छन् ।
स्थानीय लिपिहरूको संरक्षणदेखि राजधानीको उपप्रमुख समेतको स्थानमा आउन सफल भएको भन्दै फोरमले विश्वका ११४ युवाहरूमध्येमा डंगोल पनि पर्न सफल भएकी हुन् ।
उनीसँगै विश्वका विभिन्न देशका मन्त्रीहरू, सांसद, वैज्ञानिक, व्यापारी,उद्यमी पनि ग्लोबल लिडरमा घोषित भएका छन् ।
वर्ल्ड इकोनोमिक फोरमले डंगोलबारे आफ्नो वेबसाइटमा सानै उमेरदेखि सार्वजनिक जीवनमा सक्रिय रहेकी, स्थानीय लिपिहरूको संरक्षणका लागि युवाहरूको नेतृत्वमा सञ्चालित ‘क्यालिजात्रा’ अभियान सुरु गरेकी, मिस नेवा प्रतियोगिता जितेकी र काठमाडौं महानगरपालिकाको सिटी प्लानिङ आयोगमा हालसम्मकै कान्छी सदस्यका रूपमा नियुक्त भएकी लगायतका विषय उल्लेख गरेको छ ।
२९ वर्षको उमेरमा सुनिताले काठमाडौं उप–महानगरकी उप–प्रमुख पदमा देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी मतान्तरले विजयी भएको विषयलाई पनि फोरमले उल्लेख गरेको छ ।
पछिल्ला वर्षहरूमा उनले अक्सफोर्ड विश्वविद्यालय र वर्ल्ड टुरिज्म सिटिज फेडेरेसन सम्मेलनजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गर्दै विचार प्रस्तुत गरेको सन्दर्भ पनि फोरमले उल्लेख गरेको छ ।
उपप्रमुख डंगोललाई फोरमले एक ऊर्जाशील नेतृत्वको भूमिकामा सांस्कृतिक सम्पदा संरक्षण, युवा सशक्तीकरण र नवप्रवर्तनशील शहरी विकासको पक्षमा प्रतिबद्ध नेतृत्वको रूपमा उल्लेख गरेको छ ।
‘समावेशी शासनको लागि समर्पित एक कार्यकर्ता भएर उनी काठमाडौँको विविध समुदायका आवाजहरूलाई प्रतिनिधित्व गर्न सतत प्रयासरत छन्। कलाप्रेमी सुनिता पुराना परम्परालाई संरक्षण गर्दै आधुनिक शहरी विकासलाई सन्तुलनमा ल्याउन उत्साही छिन्,’ फोरमले लेखेको छ ।
उपमेयर डंगोललाई फोरमले युवाहरूलाई प्रेरणा दिने र सांस्कृतिक पहिचान र आधुनिकता जोड्ने नयाँ पुस्ताकी राजनीतिज्ञ भनेको छ ।