काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आफू पहिलो कालखण्डमा काँग्रेस र त्यसपछि कम्युनिष्ट हुँदै नयाँ विचार बोक्ने मानिस भएको बताएका छन्।
बुधबार काठमाडौँमा भएको काँग्रेस नेता चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ लोकार्पण समारोहमा बोल्दै भट्टराईले पहिले आफू काँग्रेससँग नै निकट रहेको बताएका हुन्।
‘धेरै काँग्रेसका साथीहरूले सोध्ने गर्नुहुन्छ- यो काँग्रेस हो कि कम्युनिष्ट हो भनेर। म अलिअलि काँग्रेस, अलिअलि कम्युनिष्ट र दुइटै भन्दा अगाडि विचार बोक्ने नयाँ मान्छे भन्दछु आफूलाई,’ भट्टराईले भने।
उनले काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई स्मरण गर्दै थपे, ‘कृष्णप्रसाद भट्टराईजीले माया गर्नुहुन्थ्यो। उहाँको देहान्त हुनुभन्दा एक साताअघि अस्पतालमा भेट भएको थियो। उहाँ ठट्टा गर्दै कुरा गर्नुहुन्थ्यो। त्यसबेला उहाँले बाबु कहिले तिमी माओवादी हुनुभयो भन्नुभयो।’
कृष्णप्रसाद भट्टराईले आफूलाई काँग्रेस नै ठान्ने गरेको बाबुरामले बताए।
तर आफ्नो राजनीतिक जीवनको सुरुवात गोरखा छोप्राकका कृष्णप्रसाद न्यौपाने भएको उनको भनाइ छ।
‘नाताले मामा कृष्णप्रसाद भट्टराई मेरो राजनीतिक जीवनको सुरुवातकर्ता हो, २०१८ सालमा भूमिगत रूपमा उहाँ हाम्रो घर (खोप्लाङ बेलवास) बस्न आउनुभएको थियो,’ उनले भने, ‘त्यसबेला उहाँ कागजमा के के लेख्नुहुन्थ्यो, राजा।। के के लेख्नुहुन्थ्यो। त्यसैबेला मलाई राजा भन्ने चिज गतिलो हैन रहेछ भन्ने लाग्यो, म त्यसबेला ६, ७ वर्षको हुँदो हुँ।’
उनले आफू निरंकुश राजतन्त्रविरोधी चेतनामा लागेको पनि बताए।
‘म २०३३ सालसम्म कांग्रेसनिकट रहेँ। बिपीले ०३३ सालमा राजासँग मेलमिलाप भनेर आउनुभयो। त्यो कुरा मलाई मन परेको थिएन। मैले बिपीलाई भेटेरै तपाईँको यो कुरा मन परेन भनेको थिएँ,’ उनले भने, ‘त्यसपछि म राजतन्त्रविरोधी गणतन्त्रका पक्षधर कम्युनिस्टहरूसँग नजिकिएँ र २०७२ सालसम्म कम्युनिष्ट रहेँ।’
यसबीचमा चन्द्रप्रसाद न्यौपानेसँग लोकतान्त्रिक कुराहरू सिक्न पाएको उनको भनाइ थियो। ‘चन्द्रप्रसाद मामा ठट्यौटी प्रकृतिको मानिस हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँको प्रेरणाले काँग्रेसमा थुप्रै मानिस लागेका रहेछन् भन्ने यो किताब पढेर थाहा भयो। २०६४ को चुनावमा मामा ९चन्द्रप्रसाद० र भान्जा ९म० गोरखामा सँगै चुनाव लड्ने अवस्था बन्यो।’
चुनावका बेला भोट माग्न चन्द्रप्रसादकहाँ गएको कुरा निकाल्दै भट्टराईले भने, ‘म मामाकहाँ भोट माग्न गएँ। मामाले हाँसेर भन्नुभयो-भान्जालाई दक्षिणाचाहिँ दिन सक्छु, भोटचाहिँ रूखबाहेक अन्त हाल्दिनँ भन्नुभयो। मैले हस् मामा तपाईँको आशीर्वाद भए हुन्छ भनेको थिएँ।’