काठमाडौँ । बुधबार दुई दलीय संयन्त्रको बैठक बस्दै छ।
साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयन्त्रको बैठक बस्ने नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिएका छन्।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो।
भेटमा शिक्षक आन्दोलन लगायत पछिल्लो परिस्थितिको विभिन्न समस्या समाधानका लागि उपायहरूको खोजी गर्न संयन्त्रको बैठक बोलाउने समझदारी बनेको थियो ।
संयन्त्रमा शिक्षक आन्दोलनको विषय र त्यसलाई समाधानका उपायबारे छलफल हुने बताइएको छ। शिक्षकहरूको माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै संयन्त्रकै सदस्यहरूले आलोचना गर्दै आएका छन्।
सरकारले वैशाख १२ गते सुरु हुने गरी संघीय संसदको बर्खे अधिवेशन बोलाएको छ। सोही अधिवेशनमा विद्यालय शिक्षा विधेयक टुंगो लगाइने भएकाले शिक्षकहरूलाई आन्दोलन फिर्ता गरी कक्षाकोठामा फर्कन सरकारले आह्वान गरेको थियो।