काठमाडौँ । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरूले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।
उनीहरूको प्रदर्शनका कारण माइतीघर-बबरमहल सडकमा यातायात सेवा ठप्प छ । उनीहरूले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘शिक्षा ऐन जारी गर,’ ‘शिक्षा ऐन विरोधीहरू होसियार’ लगायतका नारा लगाएका छन् ।
शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरूले २० चैतदेखि काठमाडौँमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।
मंगलबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्किन आग्रह गरेको थियो । साथै शिक्षकका माग समेत सम्बोधन गर्न भन्दै वैशाख १२ देखि संसदको बर्खे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो ।
तर सरकारबाट पटक–पटक उधारो आश्वासन पाउँदै आएको भन्दै शिक्षक महासंघले भने शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने जनाएको छ । आन्दोलनको नेतृत्व गरिरहेको महासंघले आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै थप शिक्षक कर्मचारीहरूलाई काठमाडौँमा केन्द्रित भएर आन्दोलन चर्काउन आह्वान गरेको छ ।
विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरू आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरूमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसइईको उत्तर पुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि पनि प्रभावित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरे पनि अहिलेसम्म उत्तर पुस्तिका परीक्षण सुरु नै नभएकाले नतिजा सार्वजनिक ढिलो हुने सम्भावना छ ।