काठमाडौँ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ।
बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ विकेटको जित निकाल्दै नेपालले लगातार तेस्रो जित निकालेको हो। यसअघि नेपालले युएई र ओमानलाई पराजित गरेको थियो।
अब शनिबार अफगानिस्तानलाई पराजित गर्न सके नेपाल यू-१९ विश्वकप २०२६ को विश्वकपमा छनोट हुनेछ।
बुधबार हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १२.३ ओभरमै पूरा गर्यो।
नेपालको जितमा ओपनर साहिल पटेलले नटआउट ४२ रन बनाए। उनले ४१ बलमा ८ चौका हिर्काए। अर्का ओपनर निरजकुमार यादवले १२ बलमा ४ चौकाको मद्दतमा २३ रन बनाए। कप्तान नरेन भट्टले २३ बलमा ८ चौका प्रहार गर्दै नटआउट ३९ रन बनाए।
त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ४६.२ ओभरमा ११५ रनमा अलआउट भएको हो।
हङकङका लागि कप्तान शिव माथुरले ६३ रन बनाए। उनले ११६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। आर्या पन्जावनीले १३ रन र वीर माथुरले १२ रन बनाउन सके।
बलिङमा नेपालका लेगस्पिनर युवराज खत्रीले चार विकेट लिए। उनले १० ओभरमा १८ रन खर्चिए भने ४४ बल त डट फ्याँके।
विपिनप्रसाद शर्माले ३ विकेट लिए। उनले ६।२ ओभरमा २४ रन खर्चिए। सन्तोष यादवको नाममा २ विकेट रह्यो।
यसअघि नेपालले पहिलो खेलमा युएई र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।
प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र युएई सहभागी छन्।
यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ।
प्रतियोगितामा नेपालको मुख्य चुनौती अफगानिस्तान देखिएको छ। अब शनिबार अफगानिस्तानलाई हराउन सके नेपालले नवौँ पटक युवा विश्वकप खेल्नेछ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँच पटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।
नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग वैशाख ६ मा तल्लो मुलपानी मैदानमा हुनेछ।