काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि सम्बन्धी छुट्टै ऐन बनाउने भएको छ । यस निम्ति मन्त्रालयले विधेयकको प्रारम्भिक मस्यौदा तयार पारेको छ ।
मन्त्री कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीका अनुसार विधेयकमा अनुदान दिने र लिने दुवै जवाफदेहि हुनुपर्ने लगायतका प्रावधान समेटिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर कृषिमा राज्यले प्रदान गर्दै आएको अनुदानको सदुपयोगको विषय उठाएकी थिइन ।
यसको जवाफ पठाउँदै मन्त्री अधिकारीले पारदर्शिता कायम गराउन र अनुदानको प्रभावकारिता बढाउन सबै जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
उनका अनुसार तीनै तहको सरकारबाट प्रवाह हुने अनुदानमा पारदर्शिता काम गर्ने गरी सरकारले काम गरिरहेको छ । अनुदानमा हुने दोहोरोपना हटाउन आवश्यक रहेको स्वीकार गर्दै उद्देश्य अनुरूप अनुदान रकमको प्रवाहमा प्रभावकारिता ल्याउन र अनुदानको सार्वजनकिकरण गरी पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न अनुदानग्राहीको सूची तयार गरिएको छ ।
संघीय सरकारको यस्तो कामबाट प्रदेश र स्थानीय तहले पनि सिकेर त्यसअनुसार व्यवहार गर्ने कृषि मन्त्री अधिकारीको विश्वास छ ।
मन्त्रालयका अनुसार यी समग्र पक्षलाई ख्याल गरेर विधेयक तयार पारिएको छ । अनुदान लिने र दिने दुवै पक्षलाई जवाफदेही बनाउने गरी मन्त्रालयबाट कृषि विधेयकको मस्यौदा तयार भएको जानकारी यसमै दिइएको हो ।
मन्त्री अधिकारीले दिएको जवाफअनुसार कृषि अनुदानसँग सम्बन्धित कार्यक्रमहरूको नियामक निकायहरूबाट नियमन भइरहेको छ । यसका अलावा कृषि मन्त्रालय अन्तर्गत सञ्चालित विभिन्न आयोजनाहरूको सन्दर्भमा उच्चस्तरीय व्यवस्थापन समूहको निर्णयानुसार सहसचिवहरूको नेतृत्वमा अध्ययन कार्यदल गठन गरिएको छ । कार्यदलले कृषि अनुदानको प्रभावकारिता अध्ययन सम्बन्धी तथ्यांक संकलन र स्थलगत अनुगमन लगायतका कार्यहरू गरिरहेको छ । अध्ययन कार्यदलबाट प्राप्त हुने प्रतिवेदन सार्वजनिकिकरण गरिने प्रतिबद्धता मन्त्री अधिकारीको छ ।
उनका अनुसार पछिल्लो ५ वर्षमा कृषिको अनुदानमा १ खर्व ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ ।
त्यसमध्ये प्रत्यक्षतर्फ २० अर्ब ३० करोड ३० लाख १४ हजार रुपैयाँ रहेको छ । अप्रत्यक्षतर्फ (अनुदानित रासायनिक मल) ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
यसको उपलब्धीका विषयमा कतिपयले प्रश्न समेत उठाइरहेका बेला सरकारले यसमा समेत आवश्यक पुनरावलोकन गर्ने गरी कृषि विधेयकको मस्यौदा तयार पारेको हो ।