काठमाडौँ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले बजेट अधिवेशन सुरु भएको पहिलो साता नै विद्यालय शिक्षा विधेयक पेस गर्न नसकिने बताएका छन् ।
समितिको उपसमितिमा हाल दफावार छलफल चलिरहेको बताउँदै सभापति थापाले प्रक्रिया अनुसार जाँदा पनि जेठमा मात्र सम्भव हुने बताएका हुन् ।
‘उपसमितिले १९ वैशाखमा प्रतिवेदन बुझाउने समय हो । अधिवेशन सुरु भएको पहिलो साता नै विधेयक संसदमा पेस गर्न सकिँदैन,’ उनले भने, ‘उपसमितिबाट प्रतिवेदन आएपछि पनि फुल समितिबाट टुंगो लगाउन अर्को २० दिन लाग्छ ।’
सरकारले कुनै तवरबाट ल्याए थाहा भएन नभए अधिवेशनको सुरुमा पेस गर्न नसकिने उनले स्पष्ट पारेका छन् ।
यसअघि सभामुख देवराज घिमिरेले पनि वर्षे अधिवेशनमा बजेटलाई प्राथमिकता दिनुपर्ने भएकाले शिक्षासँग सम्बन्धित विषय सम्बोधन गर्न नकिने बताएका थिए ।
शिक्षक महासंघले भने शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ ।