काठमाडौँ । सरकारले दुई जना विशिष्ट श्रेणीका सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को गत सोमबारको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिवको फेरबदल गरेको हो।
प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार, वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय(पशुपन्छी) मा सरुवा गरिएको छ भने पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रलाई वन तथा वातावरण मन्त्रालयमा ल्याइएको छ।
यसअघि पनि सरुवा भइसकेका खराललाई कर्मचारीहरूले अस्थिर र निर्णय गर्न नसक्ने सचिवका रूपमा चित्रण गर्छन् भने मिश्रको कार्यक्षमता पनि कमजोर रहेको कर्मचारीहरूको बुझाइ छ।
पछिल्लो समय प्राविधिक मन्त्रालयहरूको कार्यसम्पादन सरकारी काममा नतिजामुखी हुनुभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित देखिएको छ। फलस्वरूप, अपेक्षित नतिजा प्राप्त गर्न नसकिएको कर्मचारीहरू बताउँछन्।