काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको निर्णय पद्धतिप्रति असन्तोष व्यक्त गर्दै राजीनामा दिएकी छन् । जनताले पार्टीमाथि ठूलो आशा राखेको तर, पार्टीले डेलिभरी दिने क्षमता शून्य रहेको उनको निष्कर्ष छ ।
सहमहामन्त्रीबाट राजीनामा दिँदै सुमनाले यस्तो निष्कर्ष निकालेकी हुन् । उनले ‘एक व्यक्ति एक पद’ को अवधारणा लागू गर्न सह-महामन्त्री छोड्न लागेको बताए पनि आफ्ना असन्तुष्टिका विषयहरू लुकाउन सकेकी छैनन् ।
उनले लेखेकी छन्, ‘जसरी एक नयाँ पार्टीलाई अघिल्लो निर्वाचनमा अभूतपूर्व जनमत मिल्यो त्यसबाट जनताले देशलाई बेथितिबाट बाहिर निकाल्छ भनेर हामीमाथि ठूलो आशा राखेको स्पष्ट छ । मैले हालसालै गरेको देश यात्रामा पनि त्यो आशा बाँकी रहेको पाएँ, तर दलको प्रस्तुति सोचेजस्तो सशक्त नभएको गुनासोसँग मिश्रित । पुराना दलले लगाइदिएको सहकारी ठगीको लेबल चिर्न हामीले प्रतिसोध साँधेको नारा मात्र अघि बढायौँ ।’
पार्टी बैठकमा धेरै कर्मकाण्डी प्रक्रिया अपनाइएकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेकी छन् । वैकल्पिक राजनीतिक दलको रूपमा स्थापित हुन खोजेको रास्वपामा ‘फ्ल्याट हाइरार्की’ सबैभन्दा प्रभावकारी हुने उनको धारणा छ ।
‘जहाँ कसले बोल्यो भन्दा पनि के बोलियो, त्यसको गुण दोषको आधारमा छलफल हुन्छ । जहाँ उमेर वा ओहोदामा ठूलो सानो नहेरी सबैको विचारलाई उत्तिकै महत्त्व दिएर मनन गरिन्छ,’ उनले भनेकी छन् ।
पदाधिकारीसँग सल्लाह नगरी महत्त्वपूर्ण निर्णय लिने गरिएको सुमनाको अर्को गुनासो छ ।
‘आधिकारिक स्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले, पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ । कैयौँ पटक विभिन्न विषयमा बैठक बसौँ भन्दा समेत वास्ता नगरेको, संसदीय दलमा विद्यार्थी (भारतको विश्वविद्यालयमा आत्महत्या गरेकी नेपाली छात्राको) को विषयलाई लिएर सदन अवरुद्ध गरौँ भन्दा पनि नसुनिने समेत अवस्था देखेँ । यस कारण यस्तो महत्त्वपूर्ण पद चाहिँ यसरी हलुका नलिदिनुहुन पनि आग्रह गर्छु’, उनले लेखेकी छन् ।
सुमना थप्छिन्, ‘पार्टीले ममाथि ठूलो आशा गरी दिएको पद त्याग गर्नुलाई मैले हल्कारूपमा पक्कै लिएकी छैन ।’
रास्वपाप्रति आफ्नो प्रतिबद्धतामा केही हेरफेर हुन नदिने उनले बताएकी छन् ।
‘मलाई यो मञ्च र जनतामाझ पुग्ने मौका पार्टी र पूर्वसभापति रवि लामिछानेको प्रयासका कारण मात्र सम्भव भएकोमा कुनै दुई मत हुन सक्दैन । पार्टीको जिम्मेवारीबाट मुक्त भए पछि सांसद्को भूमिका अझ सशक्त रूपमा अघि बढाउने छु’, उनले भनेकी छन् ।
आफूले पार्टीमा अन्य कुनै पद ताकेर सहमहामन्त्री नछोडेको सुमनाको भनाइ छ । ‘म एक व्यक्ति एक पद’ लाई पूर्णरूपमा अंगिकार गरी सांसद रहेसम्म केन्द्रीय सदस्यबाहेक पार्टीको अन्य पदमा दाबेदारी पेश गर्ने छैन,’ उनले भनेकी छन् ।
पार्टीमा आफूभन्दा सक्षम महिलाहरू रहेको भन्दै उनीहरूमध्येबाट उपयुक्त पात्रलाई छनौट गरी रिक्त भएको सह(महामन्त्रीको पदमा नियुक्ति गर्न सुमनाको सुझाव छ ।
राजीनामा पत्र :

