काठमाडौँ । निजामती कर्मचारीहरूले सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्ष अगाडि धर्ना दिएका छन्। संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले समितिको बैठक बस्नुअघि धर्ना गरेका हुन्।
चैत अन्तिम दिन आन्दोलनको चेतावनी दिएका कर्मचारीहरूले बिहीबार विरोध कार्यक्रम घोषणा गरेका थिए। आज संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउनुअघि धर्ना दिइएको हो। कर्मचारीहरूले आगामी सोमबार सभामुखलाई, विभागीय सचिव र जिल्ला कार्यसमितिमार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने, वैशाख १० गते आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते संसद् सचिवालय अगाडि भेला गर्ने निर्णय गरेका छन्।

कर्मचारी संगठनहरूले विगतका सहमति, सम्झौता र अदालतको आदेश समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन्।