काठमाडौँ । दाङ, रूपन्देही, धादिङ, बाराका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।
दाङको राप्ती गाउँपालिका-५ सिंगेस्थित सडकमा कृष्ण नगरबाट घोराहीतर्फ जाँदै गरेको बा.३ ख ७९९६ नम्बरको बस अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका राजपुर गाउँपालिका-६ बस्ने ५७ वर्षीय निल सरोज र हाल नाम, थर, वतन नखुलेकी महिलाको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका बसमा सवार मध्ये ५ जनालाई लुम्बिनी सिटी अस्पताल बुटवल, १४ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र ६ जनालाई भालुवाङ अस्पतालमा थप उपचारको लागि रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका-३ चौपट्टास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदल यात्री लमही नगरपालिका-६ बस्ने ३७ वर्षीय खगेश्वर रावतको गए राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ ।
रूपन्देही, कोटहीमाई गाउँपालिका-१ परसपुरवास्थित सडकमा युपि ५५ जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीया राजवन्ती मल्लाहको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धादिङ, थाक्रे गाउँपालिका-१ एक्लेफाँटस्थित सडकमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ६५८ नम्बरको बोलेरो हाल नम्बर नखुलेको टिपर पछाडि ठक्कर खाई गए राति दुर्घटना हुँदा बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका-१ बस्ने ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई नियन्त्रणमा लिई हाल फरार टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१६ भुईपुलस्थित सडकमा प्र.२-०३-००१ ख ०६०७ नम्बरको टिपर र बा.०१-०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा कार चालक सर्लाही घर भएका ५० वर्षीय जित नारायण प्रसाद साह र कारमा सवार सर्लाही बरहथवा नगरपालिका-१५ हजरिया बस्ने ४६ वर्षीय नारायण हरि शर्माको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रसूति अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।