काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आह्वानमा आज राजधानीमा आयोजित विरोध प्रदर्शन सम्पन्न भएको छ।
राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको विरोधलगायत मागसहितको प्रदर्शन बिजुली बजारबाट सुरु भई नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा पुगेर सम्पन्न भएको हो।
महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरूङ्गका अनुसार, प्रदर्शनमा सहभागी हुन राप्रपाका नेता तथा कार्यकर्ताहरू बिजुली बजारमा भेला भएका थिए। उनीहरूले नाराबाजी गर्दै निषेधित क्षेत्रसम्म प्रदर्शन गरेका थिए।
यसैबीच, प्रदर्शनका क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले सिंहदरवार क्षेत्रमा प्रदर्शन गरिरहेकै बेला नियन्त्रणमा लिएको छ। उनीहरू सिंहदवारस्थित संसदीय दलको कार्यालयमा भेला भएर पर्चा वितरण गरी प्रदर्शनमा उत्रिएका थिए।
पक्राउ परेका नेताहरूलाई अहिले जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ।
अध्यक्षसहित शीर्ष नेताहरूको पक्राउसँगै राप्रपाले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ। महामन्त्री गुरूङ्गका अनुसार, अपराह्न ४ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय गरिएको छ।
राप्रपाले पछिल्ला दिनहरूमा राजसंस्था पुनः स्थापना र संघीयता खारेजको मुद्दालाई लिएर आन्दोलनमूलक कार्यक्रमहरूलाई तीव्रता दिँदै आएको छ। पार्टीले देशभर विरोध कार्यक्रम सञ्चालन गर्ने बताउँदै आएको छ।