गोलबजार (सिरहा) । सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ ।
सिरहा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवको गत माघमा आर्थिक तथा प्रशासनिक जिम्मेवारी खोसिएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो ।
सिरहा नगरपालिकाको तर्जुमा गरेको चालु आर्थिक वर्षको योजना सञ्चालनमा अवरोध पुगेको छ । केही योजनाको सम्झौता हुन बाँकी छ । सम्पन्न भएका योजनाको भुक्तानी हुन नसक्दा सेवाग्राहीलाई समस्या भएको छ । ज्येष्ठ नागरिक, एकल महिला, पाँच वर्षमुनिका बालबालिकाले सामाजिक सुरक्षा भत्ता र बालपोषणको रकम पाउनबाट तथा कर्मचारी पारिश्रमिक पाउनबाट वञ्चित छन् ।
सिरहा नगरपालिकामा कार्यरत कर्मचारीले गत चैतमा जिल्ला प्रशासन कार्यालयमार्फत संघीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त पदमा शीघ्र पदस्थापनको माग गर्दै ज्ञापन पत्र बुझाएको थियो ।
नगरप्रमुख डा. नवीन यादवले पटक पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लिखित तथा मौखिक जानकारी गराए पनि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा कार्यालयको कामकाज ठप्प भएको बताए । मन्त्रालयले कर्मचारी पठाएर सेवा सञ्चालन गरी समन्वय गरिदिनुपर्ने वा अहिलेकै अधिकृतलाई नै पदस्थापन गरी काम गर्न अधिकार दिनुपर्ने उनको भनाइ छ ।
आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहेको र अगामी आर्थिक वर्षको बजेटको तयारी गर्ने समय भइसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको आर्थिक, प्रशासनिक काम तथा विकास निर्माणको सबै काम ठप्प भएका नगरप्रमुख यादवले बताए ।