काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३१ बस्ने ललितपुर महालक्ष्मी नगरपालिका–१० घर भएकी २९ वर्षीया उरूषा क्षेत्री, काठमाडौँ महानगरपालिका-३२ बस्ने नुवाकोट विदुर नगरपालिका–५ घर भएका २७ वर्षीय केदार ढुंगाना र दाङ तुल्सीपुर उपमहानगरपालिका-६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन् ।
पक्राउमध्ये उरूषाले क्यानाडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट आठ लाख, केदारले माल्दिभ्स पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट आठ लाख र पोषणराजले जापान पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट ३४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पैसा लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उरूषालाई काठमाडौँ महानगरपालिका-३१ बाट शनिबार, केदारलाई काठमाडौँ महानगरपालिका-३२ बाट शुक्रबार र पोषणराजलाई दाङ तुल्सीपुर उपमहानगरपालिका-६ बाट बुधबार पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
पक्राउमध्ये उरूषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।