काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले आन्दोलनरत शिक्षकलाई तत्काल विद्यालय फर्काउन वातावरण बनाउन सरकार र नेपाल शिक्षक महासंघलाई आग्रह गरेको छ।
मंगलवार जारी विज्ञप्तिमा महासंघले शिक्षा क्षेत्रको समस्याको समाधान संवादबाट खोज्न जोड दिँदै, शिक्षकहरूलाई सडकबाट कक्षा कोठामा फर्काउने वातावरण तत्काल सुनिश्चित गर्न आग्रह गरेको हो।
शिक्षकको माग सम्बोधनबारे सरकार र आन्दोलनरत पक्षबीच संवादको ठोस प्रक्रिया अझै नथालिएको, उल्टो शिक्षामन्त्रीको राजीनामापछि अवस्था झन् जटिल बन्दै गएको विज्ञप्तिमा उल्लेख छ। संविधान जारी भएको दशक बितिसक्दासमेत शिक्षकसम्बन्धी ऐन नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ।
महासंघका अध्यक्ष गुणराज मुक्तानले नेतृत्व गरेको विज्ञप्तिमा नेपाल शिक्षक महासंघले अगुवाइ गरेको आन्दोलनलाई बेवास्ता नगर्न र समस्याको दीर्घकालीन समाधानतर्फ ध्यान दिन सरकारलाई आग्रह गरिएको छ।
बालबालिकाको शैक्षिक अधिकार, मनोविज्ञान र भविष्यलाई केन्द्रमा राखी परीक्षा सञ्चालन, नतिजा प्रकाशन र भर्ना प्रक्रिया सहज बनाउन देशभरका विद्यालय व्यवस्थापन समितिहरूलाई सक्रिय हुन महासंघले आह्वान गरेको छ।
शैक्षिक हडतालका कारण देशभरका करिब २८ हजार सामुदायिक विद्यालयका विद्यार्थीको पढाइ प्रभावित बनेको भन्दै अभिभावकमा बढ्दो अन्योलप्रति महासंघले चिन्ता व्यक्त गरेको छ।
यही आन्दोलनकै कारण बिहीबारदेखि हुने भनिएको कक्षा १२ को परीक्षा पनि सारिएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा १० दिन पछि सारेको छ। अब परीक्षा आगामी वैशाख २१ गतेदेखि सुरु हुने जनाइएको छ।
