हाम्रो पार्टीले ७६ वर्ष पूरा गरेर ७७ औं वर्षमा प्रवेश गरेको छ। हामीले संघर्षका, बलिदानका र सफलताका ७६ वर्षहरु पार गरेका छौं। ७६ वर्ष गौरवका वर्षहरु, उपलब्धिका वर्षहरु पार गरेका छौं।
हामीले आन्दोलनलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गरिसकेका छौं। अथवा अहिले संस्थापनकालको पुस्ता अब लगभग बाँकी रहेन। त्यसभन्दा पछिको पुस्ता संघर्षको मैदानमा छ।
संस्थापनकालमा कलिलो उमेर भएका साथीहरु त हुनुहोला। तर, संस्थापनकालमा अलिक वयश्क भइसकेका साथीहरुको एकाध संख्याबाहेक त्यो संख्या बाँकी रहेन। यो वार्षिकोत्सव साँच्चै नै गौरव गर्न लायकको र इतिहाससहितको वार्षिकोत्सव भएको छ।
नेत्रलाल अभागीले ‘सतिसाल’ भन्ने कविता लेखेर भन्नुभएको थियो, ‘आँधीहुरीका बेला सतिसाल मात्रै ठिङ्ग उभिन सक्छ।’ कतिपय तत्वहरु अप्ठ्यारा परिस्थितिहरुमा अलिकति आन्दोलनमा धक्का लाग्यो भने कताबाट निस्किएर भागौं भन्ने अवस्थामा हुन्छ। तर, आज नेकपा (एमाले) बनेको यो पंक्ति एउटा गौरवपूर्ण इतिहासबाट इतिहासलाई जोगाएर, इतिहासको झण्डालाई उठाएर, उद्देश्यका झण्डाहरुलाई उठाएर दृढताका साथ अगाडि बढ्दै यहाँ आइपुगेको छ।
एउटा प्रमुख विशेषता यो बनेको छ र आज नेपालमा राष्ट्रिय चेतना जुन छ, त्यसको प्रतिनिधित्व र त्यसको एक ढंगले भन्ने हो भने राष्ट्रिय गुरुको काम नेकपा (एमाले) ले गरेको छ।
वार्षिकोत्सवमा केही पुस्तकहरु विमोचित भएका छन्। अहिले अन्तिममा विमोचित भएको पुस्तक बालाराम शर्माजीको मैले सरसर्ती बीचमा पल्टाएर हेरेँ, भर्खर विमोचित भएको सेल्टरजस्तै उहाँको पनि जेल डायरी रहेछ।
मैले पल्टाएको पातामा उहाँहरु गिरफ्तार भएको र ५० जना जति अट्ने कोठामा ३६९ वा ३७० जना कोचेर राखिएको कुराको वर्णनको पेजमा आँखा पर्यो।
बग्गीखानामा एउटा कोठा ५० जना जति अट्ने थियो, हामी ३६९/३७० जना कोचिएर राखिएको मैले हेरेको थिए। अथवा हाम्रा दु:खका स्मृतिहरु छन्, कठीनाइका स्मृतिहरु छन्, अप्ठ्याराका छन्।
साथीहरु प्रायः, गिरफ्तारी नखाएका कमै साथी हुनुहोला, हिरासत नभोगेका कमै साथी हुनुहोला, अलिअलि मुद्दा नखेपेका पनि कमै साथीहरु हुनुहोला, आलोचना, विरोध र लाञ्छना नसहेका पनि कमै साथीहरु हुनुहोला।
लाञ्छना विरोध पनि सहेरै आउनुभएको होला। गाली खानका लागि कुनै गल्ती गर्नु पर्दैन भन्ने उदाहरण चाहिँ अहिले गल्ती गर्नेहरुले, अपराधीहरुले, समाज बिर्गानेहरुले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्वहरुले राम्रो काम गर्नेहरुलाई नै सबैभन्दा चर्को गरी घेराबन्दी र विरोध गर्ने काम गरिरहेका छन्। यसमा विभिन्न प्रकारका शक्तिहरु सामेल भइरहेका छन्। विरोधीहरुले खुब संगठित ढंगले घेराबन्दी र हमला गर्छन्।
“अनि हाम्रै साथीहरुमा पनि कताकति फेरि यत्तिकै यो विरोध भएको हो त, यत्तिकै विरोध त भएको होइन होला नि भन्ने खालका पनि कताकता भ्रममा पर्न खोजेको हो कि, त्यो भ्रममा सामेल हुन खोजेको हो ? विभिन्न प्रकारका वैदेशिक शक्तिहरुले हाम्रो पार्टीलाई समर्थन गरिराखेका छैनन्, यहाँ नेतृत्वले केही गल्ती त गरेन ?
यो राष्ट्रियताका सम्बन्धमा सवाल उठाएर विरोधको सामना गरिराखेको छ, यो जनताका सवाल उठाएर, अग्रगमनका कुरा उठाएर आलोचनाको तारो भइराखेको छ, आलोचनाको तारो नहुने नेता पो खोज्नुुपर्छ कि ?”
नबुझिनेगरी त्यस्ता आशंका उठाएर बोल्ने गरेको पनि पाइएको छ।
हामीले आन्दोलनका उद्देश्य छोड्दियौं, राष्ट्रियताको मुद्दा छोड्दियौं, यी इस्युहरु छोड्दियौं, राष्ट्रिय हितमा अड्न छोड्यौ, राष्ट्रिय गौरवका कुरा गर्न छोड्यौ, अग्रगामी बाटो लिन छोड्यौ भने त हाइहाइ भइहाल्छौं नि।
म पनि जेठ महिनाभित्र हाइहाइ हुन खोज्ने हो भने प्रशस्त हुन सकिन्छ नि। मैले गति छाडें भन्दिने हो भने हाइहाइ गरिहाल्छन् नि, यस्तो पो हुनुपर्छ नि भनेर। तर, हाम्रो पथ त्यो होइन।
हामी एउटा महान् परिवर्तनको उद्देश्यमा लागेका छौं। हाम्रो जिम्मेवारीको क्षेत्र भनेको पहिलो यस राष्ट्र हो। यस राष्ट्रमा गरिबी निवारण गर्ने, देशमा सुशासनयुक्त लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, फूलाउने, सही अर्थमा के हो लोकतान्त्रिक गणतन्त्र कस्तो हुनुपर्छ भन्ने नमुना स्थापना गर्ने र सुशासन र विकासको गतिलाई अगाडि लाने, समृद्ध नेपाल र सुखी नेपाली बनाएर छोड्ने, यो चानचुने नारा होइन।
समृद्ध नेपाल सुखी नेपाली भनेको– नेपाल समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ। योभन्दा माथिल्लो उद्देश्य अर्को केही हुँनै सक्दैन। हामी जुनसुकै वाद भनौं, जुनसुकै समाजवाद भनेपनि हामीले सजिलो भाषामा समाजवाद भन्ने शब्दभित्र अनेकथरी तत्वहरु त्यसभित्र समेटिएका छन्, अटाएका छन्, त्यसलाई बोकेको अभिनय गरेका छन्।
हामीलाई समाजवाद भनेर मात्रै पुगेन। हामीले जनताले बुझ्नेगरी भन्नु पर्यो, समृद्ध नेपाल सुखी नेपाली। नेकपा (एमाले) बाहेकका अरु पार्टी समृद्ध नेपाल हुनुपर्छ र सुखी नेपाली हुनुपर्छ भनेरभन्दा किन बोल्न सक्दैनन्, यिनका मुखबाट किन त्यो वचन निस्किन सक्दैन ?
नेपाल समृद्ध हुनुपर्छ, नेपाली जनता सुखी हुनुपर्छ, किन बोल्न नसकेको होला ? के अड्किन्छ होला घाँटीमा ? सुखी नेपाली भन्दा केले बोल्न नदिएको होला ? सुखी नेपाली भन्न किन नमिलेको होला ? यसको जवाफ उहाँहरुले नै दिनुहोला।
हाम्रो पार्टी बहुत स्पष्टताका साथ समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा अगाडि बढ्छ। हामी समाजको पछौटेपन हटाउन चाहन्छौं। आधुनिक, समृद्ध, समतायुक्त र सुशासनयुक्त देश बनाउन चाहन्छौं। जहाँ शान्ति चाहिएको छ, जहाँ समानता छ, जहाँ हरेक मानिस कुनै भय नभएको वातावरणमा, डर त्रास नभएको वातावरणमा, भयमुक्त वातावरणमा बाँच्न सक्छ, हामी त्यस्तो चाहन्छौं र सम्मानित जीवन बाँच्न पाउनु पर्छ।
हाम्रो समृद्धि हरेक परिवारमा आम्दानी र खर्चको स्थिति, आम्दानीले खर्च पुर्याएर, आवश्यक र अत्यावश्यक खर्चहरु पुर्याएर बचतको स्थितिमा जब हरेक परिवार पुग्छ, देश स्वतः समृद्ध हुन्छ। बढी आम्दानी हरेक जनताले गरेपछि वा हरेक वयश्क काम गर्ने उमेरको मान्छेले राम्रो आम्दानी गर्यो भने राम्रो ट्याक्स तिर्छ, राम्रो ट्याक्स तिर्यो भने सरकार मजबुत हुन्छ।
सरकारले विकास निर्माणका थुप्रै राष्ट्रिय/क्षेत्रीय र स्थानीय क्रियाकलापहरु गर्न सक्छ। सरकार बलियो भयो भने सक्छ। हामी त्यसरी जनतालाई बलियो बनाउन चाहन्छौं। जनता बलियो भएपछि सरकार बलियो हुन्छ, हामी सरकार बलियो बनाउन चाहन्छौं। हामी त्यस गन्तव्यमा अथक ढंगले आएका छौं।
मलाई एउटा नयाँ यात्रा, गन्तव्य र अभियान तोकेर अघि बढेदेखिका करिब करिब ५४/५५ वर्षका नयाँ गन्तव्य तोकेर, आन्दोलन पुनःगठन गरेर हिंडेपछिका यी ५४/५५ वर्षहरुको याद छ।
हाम्रो पार्टी महान् उद्देश्य, गौरवपूर्ण र सही उद्देश्य बोकेर स्थापना भएको थियो। पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी र निरञ्जनगोविन्द वैद्य उहाँहरु चार जनाले कलकत्तामा कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो र मोतिदेवी श्रेष्ठलाई पनि उहाँहरुले संस्थापक हो भनेर केहीले मान्यता दिनुभयो भने केहीले उहाँ त्यहाँ हुनुहुन्थ्यो, त्यसकारण मान्यता दिन मिल्दैन भन्नुभयो।
त्यो अहिले पनि एकखालको विवादको विषय छंदैछ। मूल संस्थापक पुष्पलाल भएको हुनाले पुष्पलालले मोतिदेवीलाई पनि संस्थापक मानौं भन्ने तर्क राख्नुभएको हुनाले, एकजना महिला पनि संस्थापक हुनुहुन्थ्यो भन्दा राम्रै हुन्छ भनेर हामीले पुष्पलालजीको तर्कलाई मानेका छौं।
वास्तवमा चार जनाले कोलकत्तामा स्थापना गर्नुभएको थियो। अत्यन्त गौरवपूर्ण उद्देश्यहरु राख्नुभएको थियो। १५ सेप्टेम्बर १९४९ को वक्तव्यमा, घोषणामा ती कुराहरु स्पष्टरुपमा झल्किन्छन्।
त्यति बेला भर्खर स्थापना हुँदै गर्दा, त्यो कलिलो अवस्थामा सामाजिक न्याय र समानताका कुराहरु, आर्थिक समानता र प्रगतिका कुराहरु, लोकतान्त्रिक परिपाटीका कुराहरु, जनताको सर्वोच्चता कायम भएको लोकतन्त्रका कुराहरु, वास्तवमा लोकतान्त्रिक गणतन्त्रका आधारभूत कुराहरुदेखि, त्यस गणतन्त्रले ल्याउनु पर्ने समानतासहितको समृद्धि, शान्तिपूर्ण समाज र सम्मानित जीवनसम्मका परिकल्पना त्यसभित्र रहेका छन्।
यद्यपि त्यसको उपयुक्त ढंगले तत्काल व्याख्या हुन नसकेको होला। तर, सही ढंगले स्थापना भएका छन्। यसका पछाडि हाम्रा आदरणीय शहीद र अग्रज गंगालाल श्रेष्ठ, उहाँहरुका गतिविधिहरु देशभक्तिपूर्ण वामपन्थी र प्रगतिवादी रहेका देखिन्छन्।
जो १९९७ सालमा मारिनु भयो। १९९७ सालमा जोगिएका टंकप्रसाद आचार्यजस्ता व्यक्तित्वहरु उहाँहरुले जुन स्थापना गर्नुभयो प्रजापरिषद्, उसैबेला १९९३ सालबाटै आन्दोलनले प्रगतिशीलताको बाटो लिएको, सामाजिक न्याय र समानताको बाटो लिएको र समृद्धिको गन्तव्य र समानताको गन्तव्य राखेको झल्को पाइन्छ।
त्यसै विरासतमा १९९८ सालमा पुष्पलालको अगुवाइमा, यद्यपि त्यसबेला पुष्पलालको उमेर बहुतै कलिलो थियो। १७ वर्षको मान्छेले नेपाल लोकतान्त्रिक संघ, प्रजातान्त्रिक संघ भनेर स्थापना गर्नु चानचुने कुरा थिएन। तर, त्यो उमेर, अवस्था, राणा शाही व्यवस्था र अनेक कारणले १९९७ सालको दमनको झल्कोले त्यसलाई सफलतापूर्वक अगाडि बढाउन सकिएन।
गंगालाल श्रेष्ठ हलुवाइ भन्ने नेताले, उहाँले २००३ सालमै पहिलो पटक लाल कम्युनिष्ट भनेर कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो। त्यसलाई सफतापूर्वक अगाडि बढाउन सकिएन। यद्यपि त्यसको धुकधुकी पछिसम्म पनि बाँकी थियो तर त्यसलाई अगाडि बढाउन सकिएन।
त्यसपछि २००६ सालमा पुष्पलालको अगुवाइमा यस कम्युनिष्ट पार्टीको स्थापना भयो र त्यो निरन्तरता आजसम्म आएका छौं। यद्यपि यस बीचमा हामीले तीन पटक ठूला पुनःगठनहरु गर्नु पर्यो।
केशरजंग रायमाझीहरुले केन्द्रीय कमिटी, पोलिटब्युरोसमेतको बहुमत कब्जा गरेर सही धारलाई, देशभक्तिपूर्ण धारलाई र लोकतान्त्रिक धारलाई कमजोर पारेर कम्युनिष्ट पार्टीलाई दरबारमा राजाका पाहुमा चढाउनेखालका क्रियाकलाप गरेपछि त्यस बेला २०१९ सालमा विद्रोह भएको थियो।
त्यस विद्रोहले केशरजंग रायमाझीहरुलाई परित्याग गरेर त्यसबाट एउटा पुनःगठित कम्युनिष्ट पार्टी अगाडि बढेको थियो। त्यो एउटा बहुतै सकारात्मक कदम थियो। यदि त्यहाँनिर विद्रोह गरेर अगाडि नबढेको भए फेरि मेजुरीटी कायम गर्छु भन्ने, लोभीपापीहरुका चरणमा पुर्याइसकेको पार्टी र बहुमतलाई फेरि फर्काएर ल्याउने, सामन्तवादको दलालीमा समर्पित भएको शक्तिलाई फेरि ल्याएर क्रान्तिकारी बनाएर चलाउँछु भन्ने कुरा हामीले देखेका छौं।
हाम्रै आन्दोलनबाट हामीसँगै हिंडेका कतिपय मान्छेहरु कुहिंदै झर्दै, फत्रक्कै झर्दै गरेको थियो। ती झरेकाहरुलाई फेरि ल्याएर क्रान्तिकारी बनाउन सकिंदैन, ती झरिसके। त्यस्तै हो, त्यसबेला पनि सकिंदैन्थ्यो। तर, त्यो आन्दोलन पनि छिन्नभिन्न भयो। तेस्रो महाधिवेशनपछि पुनःगठित आन्दोलन जुन थियो, त्यो पनि छिन्नभिन्न भयो।
हामीले अर्को आन्दोलन झापाबाट सुरु गर्यौं। जसको गन्तव्य लोकतान्त्रिक गणतन्त्र थियो। जनवादी गणतन्त्र भनेर हामीले भनेका थियौं। लोकतन्त्र र जनवाद भनेको त्यही कुरा हो।
जनवादी गणतन्त्रको स्थापना भनेर नै आन्दोलन सुरु गरिएको थियो। सामाजिक न्याय, समानता कम्युनिष्ट पार्टीले अगाडि सारेका कुराहरुलाई नै अगाडि सारेर अझ त्यसलाई विकसित गर्ने प्रयासका साथ र अलिकति जुझारु ढंगले जानुपर्छ भनेर अर्को पुनःगठन हामीले गरेका थियौं।
गर्दै जाँदा हामीले एकीकरण गर्दै गयौं, एकीकरण गर्दै गयौं, आन्दोलन निर्माण गर्दै गयौं, पार्टी विस्तार गर्दै गयाैं, एकीकरण पनि गर्दै गयौं र आन्दोलनलाई मजबुत बनाएर २०७५ सालमा आइपुग्दा २०७५ जेठ ३ गतेपछि हामीले कम्युनिष्ट पार्टीलाई देशको लगभग दुई तिहाइको शक्तिको रुपमा उभ्यायौं।
नेपालको इतिहासमा यति मजबुत शक्तिको रुपमा अहिलेसम्म कुनै पनि शक्ति, कुनै पनि पार्टी देखा परेको थिएन, जनताबाट अनुमोदित भएर यसरी आएको थिएन। कम्युनिष्ट पार्टी नै हो र हामीले नै त्यो गरेका थियौं। तर, केही इष्र्यालु मान्छेहरु, केही डाही मान्छेहरु र केही परिचालित कठपुतलीहरुको कारणले, उनीहरुको असहिष्णुताको कारणले, उनीहरुको इष्र्यालु कारणले, उनीहरुको डाहाका कारणले कम्युनिष्ट पार्टीभित्र समस्या पैदा गर्ने, कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन नदिने, एकताबद्ध हुन नदिएर, अगाडि बढ्न नदिएर फेरि अर्को प्रकारको एउटा विवाद, सधैं विवाद र सधैं झमेलाको एउटा नीति अख्तियार गरेर अन्तिममा पार्टी फुटाएर छोडे।
र, यस्तो समय आयो, दुई तिहाइमा पुगेको आन्दोलन, दुई तिहाइमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नेपालमा नभेटिने बनाइदिन्छौं एमाले भनेर, एमालेमै बसेर अघाएका किर्नाजस्ता भएका टुम्मटुम्म परेकाहरु एमालेलाई खोज्दा पनि नभेटिने बनाइदिन्छु भनेर कुदे, शहीदका रगतहरुमाथि कुल्चिएर, योद्धाहरुका पसिनामाथि कुल्चिएर, जुझारु योद्धाहरुका आँशुमाथि टेकेर मजाक उडाएर उनीहरुले कम्युनिष्ट आन्दोलनमा निर्लज्जरुपमा तोडफोड गर्ने, सिध्याउने, ध्वस्त बनाउने, एमालेको त नाम नै सुन्न नहुने, एमाले त खोज्दा पनि नभेटिने गरी ध्वस्त बनाउँछौ भनेर भने।
जो कोही १३ वर्ष नेतृत्वमा बसे, कोही १५ वर्ष यही पार्टीको नेतृत्वमा बसे र निर्लज्ज ढंगले यही पार्टी सिध्याउँछु भने। जुन आमाको कोखमा बसेर हुर्कियो, जुन आमाको दूध चुसेर हुर्कियो, त्यही आमालाई अस्तित्व पनि राख्दिन भनेर मार्न तयार हुने अपराधी प्रवृत्ति यिनीहरुमा हावी भयो।
हामीले त्यस बेला भन्यौ, हामीले आन्दोलनलाई पुुनःगठित गर्नु पर्यो। हामीले एकता चाह्यौ, एकीकरण चाह्यौ, आन्दोलनलाई मजबुत बनाउन चाह्यौ र हामीले एकता गर्यौ। जसलाई जति चाहिन्छ, त्यति मागे जति हिस्सा दिँदै गयौ। तर उनीहरुले त्यसलाई एकताका निम्ति होइन, परिवर्तनका निम्ति होइन, देशका निम्ति होइन, परिवर्तनका निम्ति होइन, पार्टी भाँड्न, फुटाउन, विभाजन गर्न र आन्दोलन ध्वस्त गर्नमा दुरुपयोग गरे।
फेरि हामीले आन्दोलनलाई पुनःगठित गर्यौं। उनीहरुले आन्दोलनलाई कमजोर पार्ने, ध्वस्त पार्ने हिसाबले गलत मनसाय र गतल उद्देश्यका साथ कब्जा गर्न खोजे। मैले त्यस बेला पनि भनेँ, जबसम्म बगिनी चुप्प लाग्न सक्छ, जबसम्म डम्मरुमाथि खतरा हुनसक्दैन, डम्मरुमाथि खतरा आयो भने बगिनीले झापु हान्छ, हामी पनि त्यसै गर्छौं।
आन्दोलनमाथि खतरा आइपर्यो, आन्दोलनमाथि कसैले हमला बोल्न थाल्यो भने झापु हान्छौं भनेर भन्यौ र हामीले पनि पुनःगठनमार्फत् झापु हानेर त्यस्ताहरुलाई अलग जान दियौं।
उनीहरुले आन्दोलनलाई समाप्त पार्न खोजेका थिए। त्यो षड्यन्त्र उनीहरुको सफल हुन सकेन। उनीहरुले पार्टी फुटाउन खोजे, निष्काशन गरे, कारबाही गरे सबै कुरा गरे। हामीले दोष के गरेका थियौं भन्दा यस आन्दोलनलाई पुनःगठित गर्दै जोगाउँदै अगाडि बढाएर लिएर आएका थियौं, त्यही अपराध हो।
दुई तिहाइको स्थितिमा नेपालमा कम्युनिष्ट आन्दोलनलाई पुर्याएका थियौं। सबै शक्तिभन्दा अतुलनीय ढंगले अगाडि बढाएका थियौं। त्यस अपराधमा उनीहरुले हामीहरुलाई दण्डित गर्न खोजे।
दुई तिहाइको स्थितिमा पुर्याएपछि पार्टी ठीक भएन, नेतृत्व ठीक भएन, नीति ठीक भएन, नेतृत्वले आन्दोलनलाई ध्वस्त पार्ने भयो भनेर दुई तिहाइमा पुर्याएपछि उनीहरुले तथाकथित चिन्ता व्यक्त गर्दै आन्दोलन सिध्याउने कोसिस गरें।
आन्दोलन हामीले बचाएर फेरि अगाडि बढायौं। चौतर्फी हमला, आन्तरिक र बाह्य सबै प्रकारका हमला हामीमाथि केन्द्रित भए। हामीले सफलतापूर्वक सरकार चलाउने हाम्रो अभ्यास, एकपटक हामीले २०५१ सालमा अल्पमतको सरकार, जो नौ महिने सरकार भनेर परिचित छ।
त्यसबेला अत्यन्तै सफलताका साथ सरकार चलायौ र लोकप्रिय सरकार चलायौं। त्यसबेला मनमोहन अधिकारीजी प्रधानमन्त्री हुनुहुन्थ्यो। धेरै काम त गर्न सकिएन, किनभने समय छोटो थियो। हामी अल्पमतमा थियौं। संसद प्रतिपक्षीले भरिभराउ थियो, हाम्रो स्ट्रेन्थ लगभग एक तिहाइको आसपासमा थियो।
त्यसो भएको हुनाले हामीले चाहे जसरी काम गर्न सक्ने अवस्था थिएन। तर पनि हामीले लोकप्रिय कामहरु गर्यौ। किन आत्तिए भन्दा त्यो लोकप्रिय कामहरुले हामीप्रतिको आकर्षण यस्तो बन्यो कि हामीले सहजै बहुमत ल्याउने स्थिति बन्यो। त्यसकारण हामीलाई सरकारबाट हटाउने काम भयो।
पछि संविधान निर्माण गर्ने कुरामा हामीले अगुवाइ गर्यौं। वैचारिक र व्यवहारिक ढंगले संविधान निर्माण गर्दा पनि हामीले अगुवाइ नै गर्यौं। र, संविधान निर्माण भएपछि त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा हाम्रै नेतृत्वमा सरकार बनेपछि हामीले ऐतिहासिक कामहरु गर्यौं, उलटफेर कामहरु गर्यौ र तत्काल हामीलाई नाकाबन्दी लाग्यो।
त्यसको हामीले डटेर सामना गर्यौं। अनुचित कुराको सामना गर्न हामी डराएनौं। तत्काल हामीले दृढताका साथ सामना गर्यौं। छिमेक सम्बन्धलाई नयाँ शिरा र ढंगबाट असमानताको आधारमा होइन, समानताको आधारमा, असम्मानित ढंगले होइन, सम्मानपूर्ण ढंगले छिमेक र अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि परिभाषित गर्यौं र त्यस ढंगले राष्ट्रको मर्यादा र गरिमा माथि उठाएर हामी अगाडि बढ्यौं।
हामी भूपरिवेष्ठित थियौं, भूपरिवेष्ठितबाट अर्कोतिर पनि हामीले बाटो खोल्यौ र भूजडित गर्यौं । विभिन्न नाकाहरु खोल्यौं, बाटाहरु बनाउन थाल्यौं। यसरी विभिन्न कामहरु गर्यौं। हामीले ट्रान्सपोर्ट पारवहन सम्झौता गर्यौं र चीनको बाटो पनि प्रयोग गरेर हामीले दुर्गम क्षेत्रमा लाने व्यवस्था पनि गर्यौं।
हामीले विकासका कामहरु गर्यौं, सामाजिक क्षेत्रका कामहरु गर्यौं। सडकमा हाम्रा बालबालिका, छोराछोरी खाते भएर रहन सक्दैनन् भनेर बालबालिकालाई सडकबाट उठाएर राम्रो आश्रयस्थल र पढ्ने पढाउने व्यवस्थामा पुर्यायौं। सडक मानव सुहाउँदो कुरा होइन, त्यसलाई हामीले उठायौं, त्यो अवस्थालाई हामीले अन्त्य गर्यौं।
त्यसै गरेर भीखमंगा शोभनीय कुरा होइन, नेपाल भीखमंगाको देश होइन भनेर सडकमा भीखमंगा नरहने स्थिति बनायौं। अनेक सामाजिक कामहरु र सामाजिक न्यायका कामहरु गर्यौं।
हामीले २०५१ सालमा एक सय रुपैयाबाट थालेको सामाजिक सुरक्षा भत्तालाई वृद्धि गर्यौं। यी सबै कामहरु हामीले गर्यौं। राष्ट्रिय सम्बन्ध, छिमेक सम्बन्ध, परराष्ट्र सम्बन्ध, आर्थिक उन्नती, सामाजिक न्याय, सामाजिक उत्तरदायित्व, महिलाहरुको सम्बन्धमा, बालबालिकाहरुको सम्बन्धमा, ज्येष्ठ नागरिकहरुको सम्बन्धमा, अपाङ्गता भएका व्यक्तिहरुको सम्बन्धमा समेत हामीले दृष्टि पुर्यायौं। मान्छेहरु आतंकित भए।
विकासमा त्यतिकै छ, सामाजिक समानता र न्यायको क्षेत्रमा त्यतिकै छ। हामीसँग सामना गर्न सकिन्न भन्ने भएपछि आतंकित भएर हामीलाई सरकारबाट हटाए।
जालझेल त्यो पनि गठबन्धनभित्रै, हाम्रो समिकरण भित्रै भएकाहरुले, हामीसँगै भएकाहरुले, हाम्रै पार्टीका नेता भनिएकाहरुले अगुवाई गरेर त्यस सरकारलाई विस्थापित गरे।
फेरि हामीले चुनावमा शान्दार परिणाम लियौं र फेरि दुई तिहाइ बनायौं र विकास निर्माण, अन्तर्राष्ट्रिय सम्बन्धदेखि विश्व बैंकले हामीलाई भन्यो दक्षिण एसियामा नेपाल उदाउँदो नक्षत्र हो, यो राइजिङ स्टार हो, यसको गति, विकासको रफ्तार, यसको आर्थिक वृद्धिदर विश्वका दशवटा देशभित्र एउटा देशमा पर्छ भनेर निकाल्यो।
हामीले ७ प्रतिशतभन्दा माथि विकासको दर उठाएका थियौं र अगाडि बढाएका थियौं। विरोधीहरु आतंकित भए। विरोधी त आतंकित भएभए तर छद्म रुपमा पार्टी आन्दोलनभित्रै घुुसेका स्वार्थी, इष्र्यालु र डाही तत्वहरुलाई भोक, प्यास र निद्रा लाग्न छोड्यो।
ती छटपटाउन थाले तर तिनले आन्दोलनलाई ध्वस्त पार्ने संकल्प गरेर अगाडि बढें। तर हामीले ध्वस्त पार्न दिएनौं, आन्दोलनलाई फेरि बचाएर अगाडि बढाएका छौं।
म हाम्रा साथीहरुलाई भन्न चाहन्छु, हामी सबैले गर्व गर्नुपर्दछ कि हामीले यत्रो हमला, यत्रो घेराबन्दी, यत्रो आक्रमण, यति चरित्र हत्या गरेर बद्नाम गर्न खोज्दा पनि हामी टिकेका छौं, जनताका बीचमा गएका छौं, जनताको विश्वास जितेका छौं।
अहिले पनि नेकपा (एमाले) देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित छ। सिध्याउँछुु भन्दा पनि पपुलर भोटका हिसाबले सबैभन्दा बढी मत हामीले अहिले पनि प्राप्त गरेका छौं। अथवा सिध्याउँछु भनेर नेकपा (एमाले) सिद्धिने रहेनछ।
यसका महान् उद्देश्यहरुको कारणले यो सिद्धिदैन र सिद्धिन सक्दैन। यसका महान् उद्देश्यप्रति नेतृत्वको दृढता, पार्टीपंक्तिको दृढताका कारणले यो सिद्धिदैन।
यसलाई पूरा गरी छोड्ने हाम्रो साझा संकल्प यसकारण यो आन्दोलन सिद्धिदैन। यो आन्दोलन जीवित रहन्छ। यो सकंल्पलाई पूरा गर्नका लागि हामीसँग जुन सक्रियता छ, त्यो संकल्प गरेर हामी निष्क्रिय बसेका छैनौं। हामी सक्रिय छौं, यो सक्रियताका कारणले हाम्रो आन्दोलन समाप्त हुन सक्दैन र कमजोर पनि हुन सक्दैन भन्ने कुरा पुष्टि भएको छ।
त्यस्तो परिस्थितिमा दुईदुई पटक पार्टी फुटाउँदा, एमाले सिध्याउँछौं भन्ने कत्रो दुष्साहस ! जोजो ले पार्टी बनाए, तिनीहरुलाई नै पार्टीबाट निष्काशन ! जसले आन्दोलन सुरु गरे, तिनीहरुलाई नै पार्टीबाट निष्काशन ! यस्तो दुष्साहस गरेर जाँदा पनि हामीले आन्दोलनलाई जोगाएका छौं, जोगाएका मात्रै होइन, अस्तित्वको लडाइँमा होइन, हामी विजयका निम्तिका प्रयासमा छौं।
हामी अस्तित्वको लडाइँमा होइन, विजयको यात्रामा छौं। त्यसैकारण हामीले हाम्रो यस आन्दोलनलाई, हाम्रो पार्टीलाई, हाम्रो राष्ट्रिय शक्तिलाई मिसन ०८४ मार्फत् देशको निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने घोषणा गरेका छौं, संकल्प गरेका छौं।
त्यसका निम्ति सक्रिय प्रयासहरुलाई हामीले अगाडि बढाएका छौं। त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु, कुनै प्रकारको द्धिविधा मनमा नलिनुस्। आत्मविश्वास, राणा शासनसँग जुधेर बाँचेर आएको पार्टी हो, पञ्चायतसँग जुधेर बाँचेर आएको पार्टी हो र निरङ्कुश राजतन्त्रसँग जुधेर, निरङ्कुश राजतन्त्रलाई रछ्यानमा पुर्याएर, मिल्क्यार आएको पार्टी हो।
सबै शक्ति एकजुट भएर हामीलाई फुटाएर, टुक्राएर सिध्याउँछु भनेर हमला केन्द्रित गर्दा पनि जोगिएर आएको पार्टी हो। जोगिएर मात्रै होइन, प्रमुख शक्तिको रुपमा, प्रमुख हैसियतमा स्थापित भएको पार्टी हो।
त्यसकारण यो पार्टीले जित्दैन कि, यसले गरेको घोषणा पूरा हुँदैन कि भन्ने आशंका मनमा नलिन र आत्मविश्वासका साथ अगाडि बढ्न म कार्यकर्तापंक्तिलाई आग्रह गर्न चाहन्छु।
जनताले बुझेको छ। हामी झुलाघाट–चिवाभञ्ज्याङ यात्रा गर्यौं, मध्यपहाडी बाटोबाट। हामीले देख्यौं, जनताको उभार, जनताको समर्थन नेकपा (एमाले)को पक्षमा छ।
अनेकले मेची–महाकाली यात्रा गर्छु भने, मेची–महाकाली यात्रा गरेर अलिक पर पुगेपछि चक्कामा हावा खुस्कियो, के को मेची–महाकाली यात्रा ! अलिक परतिर पुगेपछि चक्काको नटबल्टु खुस्कियो, अलिक पर पुगेपछि इन्जिन नै गयो।
हामीले कतिपटक मेची–महाकाली, महाकाली–मेची, पहाडबाट, दुर्गमबाट, डाँडैडाँडा, मैदान नै मैदान यात्रा गरेका छौं र अब पनि यात्रा गर्नेछौं र दुुनियाँ आश्चर्यचकित भएको छ, हाम्रो राष्ट्रिय र सफल अभियानले।
हामीले २०७४ को चुनावभन्दा अगाडि मेची–महाकाली यात्रा जुन गर्यौं, त्यसले असाधारण उत्साह ल्यायो। मेची–महाकाली २०७३ फागुन २१ गतेबाट सुरु गरेका थियौं। त्यति बेलाको जनउभार हामीलाई थाहा छ। फेरि पनि हामी गर्नेछौं। देशले देख्ने छ, दुनियाँले देख्ने छ कि मेची–महाकाली एमाले यात्रा कस्तो हुन्छ भनेर, राष्ट्रिय जागरण यात्रा कस्तो हुनेछ भनेर दुनियाँले देख्ने छन्।
बीचमा सुरु गर्दा सोलीको टुप्पोजस्तो भएर सुरु गर्यो, पछाडि सोलीको फेदजस्तो भएर अलिक पर पुग्दा सिद्धिन्छ अनि टुंग्यायो अनि हिंड्यो, फेरि सुरु गर्यो, खण्डखण्ड यस्तो होइन।
नेकपा (एमाले) ले बेग्लै ढंगले अभियान चलाउँछ। म कता कता देख्छु, साथीहरुमा आत्मविश्वासको कम भएको हो कि जस्तो। एकताको भावना र प्रवृत्ति हामी कहाँ छौं, के गर्दैछौं र किन गर्दैछौं भन्ने कुरा अलिक बिर्सिन खोजेको हो कि, हाम्रा महान् उद्देश्यहरु बिर्सिन खोजेको हो कि, हाम्रो गन्तव्य बिर्सिन खोजेको हो कि, साथीहरुलाई नेतृत्वप्रति विश्वासमा केही कमी आएको हो कि जस्तो।
हामीले जेलनेल खटेर, संघर्षका मैदानमा, कामका दौरानमा, नीति निर्माणको तहमा अथवा अभियानमा हरेक ठाउँमा परीक्षा मात्रै होइन, अग्नी परीक्षा दिएर आएका छौं।
फेरि पनि साथीहरुमा धरमर हुने ? हाम्रा नीतिहरुप्रति सही छन् र जस्तो लाग्ने ? भनेका बेला एउटा पद पाएन भने असन्तुष्ट भएर पार्टीप्रति टिप्पणी गर्न थाल्ने ? यी खालका कुराहरु हाम्रो साथीहरुमा हुनुहुँदैन, कुनै प्रकारको कमीकमजोरी हामीले देखाउनु हुँदैन। हामीले द्धिविधा कुनै मनमा लिनु हुँदैन, हाम्रो आत्मविश्वास डग्न दिनु हुँदैन र कमजोर हुन दिनु हुँदैन।
हामीले थाहा पाउनुु पर्छ–यो वर्ग संघर्ष हो। यो अलिक निर्मम हुन्छ। हामीमाथि कति निर्मताका साथ प्रहार गरेका छन्। तर हामी त्यसको बदलाका हिसाबले सोचिराखेका छैनौं। हामी राष्ट्रनिर्माण गर्ने हिसाबले सोचिराखेका छौं र सकेसम्म हाम्रो विरोधी भरसक कोही नहोस्, सबै राष्ट्रनिर्माणको हाम्रो नीतिमा सहमत होउन् र स्वच्छ ढंगले चलुन्।
राजनीति हिजोको जस्तो मात्रै छैन। आजको अन्तर्राष्ट्रिय नीति र ग्लोबल अर्डर हेर्यौं भने त्यसले देखाउँछ, त्यहाँ एउटा सिद्धान्तको कुरा, नीतिको कुरा, वैचारिक हिसाबले नीति निर्माण गर्ने त्यो अवस्था होइन कि कमाइको प्रतिस्पर्धामा दुनियाँ लागेको देखिन्छ।
कमाई सबैभन्दा ठूलो कुरा हो, थिति, विधिभन्दा पनि कमाइ ठूलो कुरा हो भन्ने हिसाबले चल्न खोजेको देखिन्छ। यो कतिलाई त्रासदीपूर्ण लाग्न सक्छ।
यो विकासक्रमको एउटा गतिको नियम हो। यस्ता उचारचढावहरु आउँछन्। यस्ता झोका र झड्काहरु आउँछन्। यस्ता उवरखाडरहरु आउँछन्।
यस्तै उवरखाडरहरुबाट क्लास स्ट्रगल मजबुत हुँदै जान्छ। हिजो क्लास स्ट्रगलको जुन स्वरुप थियो, त्यो स्वरुप आज बदलिएको छ। त्यसैकारण आज हामीले जनताको बहुदलीय जनवाद किन अपनायौं ? यसकारण कि एकैनासको सङ्घर्ष छैन, एक ठाउँ र अर्को ठाउँमा पनि मिल्दैन, आफ्नो परिस्थितिअनुसार नै हुन्छ। एक समय र अर्को समयमा मिल्दैन।
त्यति बेलाको समयअनुसार नै हुन्छ। त्यस समयले निर्धारण गरेका सीमा र समाजका चरित्र अथवा विभिन्न वर्गहरुको अवस्था, अवस्थिति र चरित्रहरुले निर्धारण गरेको हुन्छ।
आज धेरै कुराहरु फेरिएका छन्। यो बदलिएको परिस्थितिमा हामीले अत्यन्तै सचेतनताका साथ सही विश्लेषण, सही निष्कर्षका साथ सही नीतिनिर्माण गर्नु पर्दछ। ती नीतिका आधारमा सही निर्णय गर्नुपर्दछ, सही कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्दछ र यत्रो हमला गरेको बेला साथीहरुलाई आश्चर्य लाग्दैन ? दुनियाँले यत्रो हमला गरेको छ, केपी ओली बिनाको एमाले खोजेको छ। किन खोजेको होला केपी ओली बिनाको एमाले ? तिनको मनसाय सही भएको भए त म सरक्क छोडिहाल्थे नि।
हाम्रै देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ? तसर्थ, केपी ओली बिनाको एमाले र एमाले बिनाको नेपाल चाहियो अरे उनीहरुलाई ! हामी चुनौतीका साथ भन्छौं, मिसन ०८४ मा हेरौला, एमाले बिनाको नेपाल हुन्छ कि के के बिनाको नेपाल हुन्छ।
नेकपा (एमाले) यस्तो शक्ति हो, जसलाई यत्रो महाप्रलयका साथ हमला गर्दा सकिएन त, प्रमुख पार्टीको रुपमा आयो त, अझै बुझ्नु पर्दैन ? अझै पनि ट्याइँट्याइँ गर्छन्।
भुइँफुट्टाहरुले राजनीति कसरी गर्न खोजेका छन् देख्नुभएन ? राजनीति गर्नेहरुले राजनीति गर्नु हुँदैन अरे ! माझीलाई ढुंगा चलाउन नदिने, म चलाउँछु भनेर बगाइदिने, घोप्टाइदिने, डुबाइदिने।
ड्राइभरलाई गाडी चलाउन नदिने, सिक्दै नसिकेका मान्छेहरुलाई यसले चलाएन, यो बुढो ड्राइभर यसले पहिलेदेखि चलाएको छ, २० वर्ष भयो चलाएको, कहाँ पाउँछ ? अब म सिटमा बसेर चलाउँछु भन्छ, कहिल्यै चलाएको छैन, त्यसले के हुन्छ ? त्रिशुलीमा खसाल्दैन ?
त्रिशुलीमा पुर्याउँदै पुर्याउँदैन, यही परतिर खसालिहाल्छ। त्यस्ताहरुलाई जिम्मा दिन सकिन्छ ? जसले मेसिन चलाएको छैन, उसले मेसिन चलाउने ? सेफलाई खान बनाउन नदिने, अनि अनाडी कहिल्यै आमाले बनाएको चिया बाहेक आफूले एककप चिया बनाएर पनि नखाएकाले म खाना बनाउँछु भनेर, चामल पनि डडाउँछ, दाल पनि डडाउँछ, तरकारी पनि डडाउँछ, नुन पनि हाल्दैन, बेसार नै बेसार बनाउँछ, त्यो काम लाग्छ ? हामीले नयाँ पनि देख्याैं।
अब नयाँ पनि देखिए र फेरि हामीले फालीसकेका सयौं वर्ष अन्धारमा राखेर जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरु अहिले प्रतिगामी शक्तिहरु, फेरि प्रतिक्रियावादी शक्तिहरु, फेरि प्रतिगमन गरेर आउन खोजिराखेका छन्। कत्रो आँट होला ! २१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने अरे ! महाराजधिराज भएर जनतालाई हुकुम दिने अरे ! जनताभन्दा माथि, संविधानभन्दा माथि, देशभन्दा माथि, १५ गते यिनीहरु नाङ्गिए।
अलिक अप्ठ्यारो पर्यो भने हामीले खोजेको त संवैधानिक राजतन्त्र ! संविधान नमान्ने, कानुन नमान्ने, लोकतन्त्र नमान्ने, अनि खोज्ने के, संवैधानिक अरे ! संविधान नमानेर संवैधानिक खोज्ने ?
संविधान नमान्ने, संवैधानिक खोज्ने ? जनताले भनेको नमान्ने, जनताले बनाएको संविधान नमान्ने, जनताले ल्याएको लोकतन्त्र नमान्ने, जनताको प्रणाली नमान्ने, जनताको सार्वभौमसत्ता नमान्ने, जनताको सर्वोच्ता नमान्ने, जनता शक्तिका स्रोत हुन् भनेर नमान्ने, अनि जनताको चाहनाअनुसार भन्ने।
अनि पैसा तिरेका चारवटा गुण्डा शहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मार्न लगाएर, तोडफोड गर्न लगाएर, पार्टी कार्यालयमा तोडफोड गर्न लगाएर, व्यक्तिका घरहरु तोडफोड गर्न लगाएर, व्यापार विजनेशमा आक्रमण गर्न लगाउने, अनि देश बिग्रियो, हामी सर्पान आउँछौं, मलाई साथ देउ, म अगाडि बढ्छु भनेर आह्वान् गर्ने।
अस्ति २०५८ सालमा ज्ञानेन्द्र शाहका हातमा शासन पुग्दा हामी सबैलाई थुने, अहिले प्रेसवालाहरु के भन्दैछन्, म बुझ्दिनँ। त्यति बेला त समाचार भन्नेका पछाडि आर्मी उभिएर समाचार भनेको होइन ? प्रेसमा साँचो लगाउन गएको होइन ? समाचार बन्द गरिएको होइन ?
टेलिफोनको लाइन काटेर होइन, तार काटेको थियो। कस्तो लाइन काटेपछि त सिद्धियो नि, तार काटेर कहाँ गएको ? अहिलेसम्म तार ज्ञानेन्द्र शाहले फिर्ता गरेका छैनन्। कहाँ लगेको हो, कहाँ लगेको हो। अनि फेरि राजतन्त्र चाहियो ? हामीले अस्ति देखेका छैनौं, २०५८ देखि २०६२ सम्म ? यो भुलभुलैयामा नपरौं, यस्ता शक्तिहरु हाम्रो सुदृढ एकता र हाम्रो एमाले जस्तो गर्जन नपुगेर यिनीहरु सल्बलाउन थालेका हुन्।
नयाँ शक्ति भनेको छ, नयाँ शक्तिको अब तमासा देखिएन ? कोही प्रहरी कुल्चिएर गाडी गुटुटु लिएर जान्छन् पागल हो कि, सद्दे हो कि ? राज्यको ड्युटी गर्न उभिएको प्रहरीमाथि मार्न गाडी लिएर जाने ? यिनीहरुको प्रभोकेशनलाई हामी सहेका छौं तर सहनुको एउटा हद हुन्छ। जब जनतालाई अवमूल्यन गरिन्छ, हेपिन्छ तब सहने कुराको हद हुन्छ भन्ने कुरा म चेतावनी पनि भन्न चाहन्छु।
अब हामी सुशासन र विकासको बाटोमा अगाडि बढेका छौं। सजिलो छैन। धेरैतिर बिग्रिएको छ। बिग्रिएकोलाई सच्यााएर अगाडि बढ्न, सपारेर अगाडि बढ्न सजिलो छैन। त्यही अप्ठ्यारो काम हामी गरिराखेका छौं र गर्न खोजिराखेका छौं।
नौ महिना अगाडि हामीले सरकार जिम्मा लिंदा देशको अर्थतन्त्र अस्तव्यस्त र ध्वस्तको अवस्थामा निकै ओरालो लाग्दो अवस्थामा थियो । त्यो ओरालो लागेको अवस्थाबाट ब्रेक हान्दैहान्दै ल्याएर यो वर्ष बढीमा हामीले ठीक ठाउँमा ओरालो लाग्ने क्रमलाई रोकेर अब सकारात्मक बाटोमा फर्काउन हामी नयाँ बजेट ल्याउँदै छौं, नयाँ नीति कार्यक्रम ल्याउँदै छौं र त्यस ढंगले अगाडि बढ्छौं।
अहिले एकजना मन्त्रीले राजीनामा दिनुभयो भन्ने खुब प्रचारवाजी छ। किन दिनुभयो अरे भन्दा प्रधानमन्त्रीले बसिखानै दिएन अरे ! मैले बनाएको मन्त्री, मैले काम लगाइराखेको छु, सहयोग गरिराखेको छु, सिकाइराखेको छु, उहाँले अस्ति भर्खर पनि घाँटीको अप्रेशन गर्नुभयो, स्वास्थ्य पनि ठीक भएन। शिक्षा मन्त्रालय धेरै ठूलो मन्त्रालय छ। सजिलो पनि छैन।
त्यसो भएर उहाँले स्वास्थ्यको कारण देखाउनुभएको छ। स्वास्थ्यको कारणले उहाँले काम गर्न सक्नुभएन, तर आजको अखबार हेर्नु पर्छ, सबैको हेडलाइन मेराविरुद्ध ! यो त आश्चर्यको पनि यस्तो अनौठो आश्चर्य लाग्छ, यस्तो दुुश्मनी के कारणले हो ? सबैले एकै ठाउँमा बसेर सल्लाह गरेर लेखेको जस्तो गर्छन्।
मानिलिऔं, प्रस्ताव राखेर पारित नै गरेर यही लेख्ने भनेर लेखेको जस्तै। सबैको टेलिफोन संवाद भएर योजनाबद्ध ढंगले लेखेका छन्, आज सबै पेपरका हेडलाइन हेर्नुस्। सरकारले असहयोग गरेर कही कही ठाउँमा लेखेको होला। नत्रभने प्रधानमन्त्रीले असहयोग गरेर, प्रधानमन्त्रीसँगको मतभेदबाट भनेर लेखेका छन्।
धेरैलाई लागेको छ, कोही कोही नयाँ शक्तिहरुले त भनेछन् पनि, ‘शिक्षामन्त्रीको राजीनामा आयो, प्रधानमन्त्रीको आउनु पर्दथ्यो’ भनेर। प्रधानमन्त्रीको राजीनामा मैले भन्ने गरेको छु त, १५ महिनापछि आउँछ भनेर।
हाम्रो नेपाली कांग्रेससँग सहमति नै छ, १५ महिनापछि राजीनामा मैले गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ। यसमा स्पष्ट नै छ, १५ महिना पर्ख न मेरो राजीनामा हेर्ने मन छ भने, पर्ख पर्ख…१५ महिना पर्ख। मैले १५ महिनापछि राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ।
पत्रिकालाई अरु नै बनाउन मन होला, १५ महिना त्यस्तै हो। आरजुजीको एउटा मिटिङ थियो, शेरबहादुरजी स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभयो, वाह ! मन्त्रीको राजीनामाको कुखुराको चल्लाहरुले सानो फट्याङ्ग्रो पाए भने एउटा चल्लाले ट्याप्प समातेर कुद्छ, के खान आँट्यो यसले भनेर त्यसका पछि सबै कुद्छन्।
अहिलेको मिडिया पनि त्यस्तै भएको छ, एउटाले ट्याक्क टिपेर कुद्छ, के लग्यो चुच्चोमा खान आँट्यो भनेर सबै त्यसका पछि कुद्छन् के के न भेट्याए भनेर।
शेरबहादुरजी स्वास्थ्य परीक्षणका लागि जानु भयो। अनि शेरबहादुरजीले कांग्रेस र एमाले मिल्नु हुँदैन भनेर भन्ने मान्छे खोज्न जानुभएको हो बैंकक ? त्यस्तो मान्छे यहाँ भेट्याएको छैन ? यहाँ त्यस्ता कुरा सुनेका छैन ? हामी साथ दिन्छौं, हामी सहयोग गर्छौं, तपाईं नै सरकार चलाउनुस्, तपाईं नै प्रधानमन्त्री हुनुस्।
ए बाबा ! १४/१५ महिना पर्खिनुस् न भनेको। उहाँलाई नै बनाउने हो, त्यति बेला उहाँलाई साथ दिनुस्, सहयोग गर्नुस् न। अहिले पनि साथ दिनुस्, पछि उहाँ पनि बन्नु हुन्छ भनेर साथ दिनुस् न, भैगो नि ! हल्ला चलाएका छन्, शेरबहादुरजी आएपछि के हुन्छ…?
नेपालमा प्रतिगमन हुनेवाला छैन। अब यसो प्वालबाट निस्किएर फिटिटिटि उडेका छिचिमिराहरुको जमाना आउँछ कि भन्ने नसोचे हुन्छ। केही आउनेवाला छैन।
देश नेकपा (एमाले) ले भनेको गन्तव्यतिर अगाडि बढ्छ अस्ति असार १७ गते बिहान छक्क परे, १७ गते राती सबै छक्क परे। सिध्याउँछौं भनेको एमाले, सिध्याउँछौं भनेको केपी ओली प्रधानमन्त्री पो हुने भयो भनेर। के भएको यो ? दुनियाँ लाग्दा पनि फेरि केपी ओली प्रधानमन्त्री, फेरि एमाले सरकारमा ! भनेर छक्क परे।
सरकारको नेतृत्व एमालेले गरेको छ। दुनियाँले सोचेको थियो, तीन वर्ष अगाडि उही दिन, जुन दिन छोडेर हिंडेको थियो, त्यही दिन तीन वर्षभित्र संवैधानिक बाटोबाट फेरि फर्किएर नेकपा (एमाले) आएको छ।
फेरि पनि नेकपा (एमाले) आफ्ना सुकर्महरुमार्फत्, सुविचारमार्फत्, सुनीति, सुव्यवहार, सुुआचरण, सुगन्तव्य र सुसंकल्पमार्फत् अगाडि बढ्छ र सफलता प्राप्त गर्दै अगाडि बढ्छ।
यहाँको प्रगतिवादी आन्दोलनलाई, यहाँको लोकतन्त्रवादी आन्दोलनलाई, यहाँको गणतन्त्रात्मक लोकतान्त्रिक आन्दोलनलाई कसैले पनि समाप्त पार्न सक्दैन।
अब नेपाल अगाडि बढ्यो बढ्यो, यसको ग्यारेन्टी नेकपा (एमाले) यस देशमा छ, नेकपा (एमाले) ले सबै समस्याको समाधान दिंदै अगाडि बढ्ने छ। यस देशमा एमाले छ। कुनै कलिलो र काँचो एमाले होइन। ७६ वर्ष पूरा गरेर ७७ वर्षमा प्रवेश गर्दै गरेको एमाले छ।
कतिपयलाई मेरो उमेरको चिन्ता छ, कतिपयलाई मेरो स्वास्थ्यको चिन्ता छ। स्वास्थ्यको चिन्ता पोहोर परार म बिरामी थिए। पोहोर परार बिरामी थिए, अहिले बिरामी छैन।
अब मलाई बुढै देख्न मन छ भने २०/२५ पर्खिनुस् न बाबा ! पर्खिनुस् न, बुढो नभइकन मान्छे रहनै सक्दैन नि, बुढो त भइहाल्छ। २०/२५ वर्ष पर्खिनुस् न। किन हतार ? हतार गरेर हुन्छ ? २५/३० वर्ष पर्खिनुस्।
अहिले त मेरो बुबा हिंड्दै हुनुहुन्छ लौरो नटेकीकन। मलाई बुढो देख्ने, के भएका आँखा होलान् ! मेरो बुबालाई भने हुन्थ्यो बरु। मेरो उमेरका कुरा, स्वास्थ्यका कुराको बारेमा एकदिन हाफम्याराथुन राखौं कि क्या हो ?
हामी एउटा दह्रो मिसन बोकेर हिंडेका छौं, जबसम्म सक्छौं तबसम्म गर्छौ। जबसम्म यस मिसनलाई बोक्न सक्छौं, तबसम्म कन्जुस्याइँ नगरी बोक्न सक्छौं।
जब सक्दैनौं, बाँकी साथीहरु आउनु हुन्छ। हिजोका साथीहरु बितेर जानुभयो, हामीले थामेर अगाडि बढाएका छौं। हामीपछि अरु साथीहरुले थामेर अगाडि बढाउनु हुन्छ। किनभने हामीसँग बुद्धले भनेको जस्तै उहाँको दिवंगत हुने बेलामा, उहाँको निधन हुने बेलामा उहाँको वरिपरी भिक्षुहरु, भक्तहरु, अनुयायीहरु बसेर आँशु खसाउँदै सोधे, बुद्ध अब तपाईंको शेषपछि के होला ? बुद्धिज्म के होला ? बुद्धले भने, मेरा विचारहरुले मलाई बचाउने छन्, मेरा विचारले मेरा विचारहरुलाई बचाउने छ।
तिनीहरुलाई अनुशरण गर्दै तिमीहरु अगाडि बढ। विचारले बचाउने हो। नेकपा (एमाले) लाई विचारले संगठित, पुनःगठित र फेरि पछारियो भने फेरि उठेर धुलो टक्टक्याएर अगाडि बढेको छ।
यो मर्दैन, यो विचारका कारणले यसका महान् उद्देश्यको कारणले अगाडि बढ्छ। कार्लमाक्र्सले त्यसैकारण भन्नुभएको थियो, पेरिस कम्युन अहिले दबेको होला, तर पेरिस कम्युन जसका उद्देश्य जबसम्म पूरा हुँदैनन्, फेरि पटक पटक दुुनियाँका भागहरुमा प्रकट भइरहने छ।
पेरिस कम्युन आज नेपालमा अझ मजबुत र अझ बलियो भएर प्रकट भएको छ। यसका उद्देश्य जबसम्म पूरा हुँदैनन्, यो ठाउँठाउँमा प्रकट भइरहने छ, यो सही कुरा हो।
अन्त कतिपय ठाउँमा अप्ठ्यारोमा होला, कतिपय कारणहरु होलान्, कतिपय कमिकमजोरीहरु होलान्, हामी ती कमिकमजोरीहरु पनि हुन दिंदैनौं, कारण हुनसक्छ तर तिनको समाधान पनि छ। हामी समाधान दिएर अगाडि बढ्छौं।
त्यसकारण हाम्रो आन्दोलन कमजोर हुँदैन। यो विश्वासका साथ अगाडि बढ्न म साथीहरुलाई हार्दिक आग्रह गर्दछु। हामी जेलमा हुँदा गाउन्थ्यौं, वी स्याल ओभर कम सम डे भनेर, हामी जित्ने छौं एकदिन भनेर गाउन्थ्यौं। हामीले त जितेका छौं, अझै ठूला जितहरु हासिल गर्दै जानेछौं, झन् ठूला जितहरु हासिल गर्दै जानेछौं।
त्यो गीत हामी जित्ने छौं एकदिन, हाम्रा लागि पुरानो भइसक्यो। हामी जित्ने छौ भनेर जेलमा बस्दा गाउन्थ्यौं। भूमिगत हुँदा हामी गाउन्थ्यौं। आज त हामी सेल्टरको किताब लेख्दैनौं, सेल्टर हामी आज भोगिराखेका छैनौं।
आज अर्को परिस्थिति सिर्जना भएको छ। कतिपय साथीहरुले बडो भावुक भएर भन्नुहुन्छ, ओहो ! यस्ता पो कम्युनिष्ट थिए भनेर। हो, त्यस्तै कम्युनिष्ट थिए र पो आज यो दिन आयो।
हामीले त्यस्तै कम्युनिष्टबाट ल्याएका हौं। अरु दन्त्य कथाको पात्र होइन, लेख्ने मान्छे त यहीँ हुनुहुन्छ। सेल्टर लेख्ने मान्छेहरु, ती दिन भोग्ने मान्छेहरु यहीँ हुनुहुन्छ। म यहीँ छु, जेल जाने मान्छे यहीँ छौं, भूमिगत भोग्ने मान्छे यहीँ छौं, पिटाइ खाने मान्छे यहीँ छौं।
दु:खकष्ट भोग्ने मान्छे यहीँ छौं। पचासौ पटक गिरफ्तारी दिने मान्छेहरु यहीँ छौं। आज सम्मानित भएका मान्छेहरु यहीँ हुनुहुन्छ। अहिले इतिहास, इतिहास भइसकेको छैन। इतिहास अझै जीवित छ। यो इतिहास अगाडि बढ्छ। अरु विभिन्न यस्ता सफलताका कथाहरुको श्रृंखला बनाउँदै अगाडि बढ्छ।
मैले अघि नै भनेँ, गौरवपूर्ण ७६ वर्षहरु हामीले पार गरेका छौं र सय वर्ष पुग्दा यस आन्दोलनलाई समृद्ध नेपाल सुखी नेपालीको एकचरणमा पुर्याउने हाम्रो उद्देश्य रहेको छ।
जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरेको छ। हामीले तय गरेको समृद्ध नेपाल सुखी नेपालीको त्यस सही गन्तव्यले हामीलाई ऊर्जा दिएको छ।
त्यस संकल्पलाई साकार पार्न हाम्रो सक्रियताले हामीलाई सफलता दिलाउने छ। त्यो विश्वासका साथ हामी अगाडि बढ्छौं।
दुनियाँको यथोचित सफलता, साथ, सहयोग र समर्थन हामीलाई छ। हाम्रा छिमेकीहरुको साथ सहयोग र समर्थन हामीलाई छ। कसले भन्यो, साथ सहयोग र समर्थन छैन भनेर ?
केही केही समस्याहरु त छिमेककमा देखा पर्न पनि सक्छन् नि, कहिले कहिले। त्यसको संवादबाट हामी समाधान गर्छौ। त्यो कुनै नयाँ कुरा होइन। अस्ति थाइल्याण्डमा मोदीजी र मेरो लामै कुराकानी भएको छ।
अझ लामो कुराकानी हुन्थ्यो। तर, मोदीजीको अर्को कार्यक्रममा जानै पर्ने पूर्वनिर्धारित कुराले गर्दा ४५ मिनेट जति कुरा गरेर हामी छुट्यौं। बहुत राम्रो कुरा भएको छ। विरोध छ, समर्थन आदि..त्यत्रो भारतमा कसैले विरोध गर्ला, यहीँ नेपालमा पनि हाम्रो विरोध गर्ने छन् नि।
त्यत्रो भारतमा कसैले विरोध गर्ला, हुनसक्छ त्यत्रो चीनमा कसैले विरोध गर्ला, हुनसक्छ अमेरिकामा कसैले विरोध गर्ला, कुन व्यक्तिले के गर्छ, तर हाम्रा सम्बन्धहरु बहुत राम्रा छन्।
हामी कसैका विरुद्ध होइन, सबैसँग मित्रता, कसैसँग छैन शत्रुता भन्ने नीतिका साथ अगाडि बढेका छौं र हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित छ, असंलग्न छ, तटस्थ छ, मित्रतापूर्ण छ, देशभित्र हाम्रो सम्बन्ध जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, लोकतान्त्रिक गणतन्त्रको पक्षमा, संविधानको पक्षमा, शान्ति न्याय र समानता, सुरक्षा र सम्मानित जीवनको सबैका निम्तिको प्रत्याभूतिको पक्षमा छ।
शहीदका सपनाहरु हामीले नबोकेका होइनौं, बोकिराखेका छौं र तिनै सपनाहरु हामी पनि देखिराखेका छौं, अझै उज्वल भविष्यको सपना। अघि हामीले भिडियो हेर्यौं, कहाँबाट कहाँ, यिनै ३३ वर्षमा हामी कहाँबाट कहाँ पुुग्यौं ? के के विकास गर्यौं, के के फरक पर्यो, त्यसो भएर हामीले उपलब्धि हासिल गरेका छौं, भिन्नता ल्याएका छौं, भिन्नता ल्याउने छौं, सकारात्मक भिन्नता ल्याउने छौं।
हामी नकारात्मक सोचबाट होइन, सकारात्मक सोचका साथ अगाडि बढेका छौं। आज विशेष महत्वको दिन हो, हामीले विशेष संकल्प गर्नु पर्दछ।
त्यो संकल्पका साथ अगाडि बढौं भन्ने म साथीहरुलाई आग्रह गर्न चाहन्छु। देशभरिका साथीहरुले एउटा नयाँ अठोट र नयाँ सकंल्पका साथ ७७ वर्षलाई हामीले नयाँ उत्साहको र सफलताको वर्ष बनाउनु पर्दछ।
यो मिसन ०८४ का लागि सफलताका लागि मजबुत आधारहरु बनाउने वर्षका रुपमा यो आगामी वर्ष हुनुपर्छ।