काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्ने गरी बजेट ल्याउन सुझाव दिएका छन् ।
बुधबार सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।
जुनसुकै क्षेत्रका निर्माण सम्पन्न नभएका परियोजनाहरू भए पनि त्यसलाई सम्पन्न गर्न उनले सरकारको विशेष ध्यानाकर्षण गराए ।
‘अर्थमन्त्रीज्यूलाई म भएका प्रोजेक्टहरूलाई कम्प्लिट बाटोमा जानुस् भन्छु । जतिसुकै अन–पपुलर हुनु परेता पनि कसैको पनि क्षेत्रमा एउटा सिद्धान्तमा आधारित इन कम्प्लिट प्रोजेक्टहरूलाई कम्प्लिट गर्ने मात्रै प्राथमिकतामा राख्नुस्,’ सांसद चौधरीले भने ।
५० करोड बराबरका परियोजनाहरू डिपीआर तयार भएर टेण्डर आह्वान हुँदा पनि एक करोडको बजेट मागेको उनले बताए ।
‘५० करोडका प्रोजेक्टहरू छन्, जसको डिपीआर बनेको छ, टेन्डर भएको छ, एक करोड बजेट माग्या छ । यस्ता म ५० औँ वटा उदाहरण देखाइदिन सक्छु । यस्तो प्रवृत्ति रोकिनुपर्यो । त्यो एक करोडको पनि सदुपयोग हुँदैन, त्यो प्रोजेक्ट कम्प्लिट हुने त कुरै भएन,’ सांसद चौधरीले भने ।