काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौँमा लोकतन्त्र दिवसको सेलिब्रेसन कार्यक्रम गर्दैछ ।
उक्त कार्यक्रमका सिलसिलामा भृकुटीमण्डप आसपासमा राखिएका राष्ट्रिय झण्डाको ‘पोजिसन’ लाई लिएर राजावादी दल राप्रपाका एक पदाधिकारीले आपत्ति जनाएका छन् ।
राप्रपा महामन्त्री शरदराज पाठकले कार्यक्रम स्थलमा राष्ट्रिय झण्डा आधा झुकाइएको भन्दै आपत्ति जनाएका हुन् । यसरी केको शोक मनाइएको हो भन्ने उनको प्रश्न छ ।
फेसबुकमा स्ट्याटस लेख्दै पाठकले भनेका छन्, ‘तपाईँहरूको पार्टीको झण्डा जेसुकै गर्नुस्, मतलब भएन। तर राष्ट्रिय झण्डाको यस्तो अपमान र मनपरीका लागि आयोजक मुख्य रूपमा अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल लगायतलाई दण्डित गरिनुपर्छ।’
भृकुटीमण्डप परिसरमा एमाले पार्टीको सूर्य चिन्ह अंकित झण्डासँगै राष्ट्रिय झण्डाहरु घोप्टो पारेर राखेको तस्बिर पनि उनले पोस्ट गरेका छन् ।