काठमाडौँ । पर्साको वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट आठ जना किशोरको उद्धार गरिएको छ ।
रक्सौलबाट मधेस प्रदेशका विभिन्न जिल्लाका आठ जना किशोरको उद्धार गरी उनीहरूलाई आफन्तको जिम्मा लगाइएको हो । राम्रो तलबको प्रलोभन देखाई उनीहरूलाई एक नक्कली नेटवर्किङ कम्पनीमार्फत बन्धक बनाई तालिम दिइँदै गरेको अवस्थामा फेला पारिएको थियो ।
भारतीय प्रहरीले गत मार्च २९ मा उक्त स्थानमा छापा मार्दा आठ जना किशोरसहित ५६८ जना व्यक्ति पक्राउ परेका थिए । उद्धार गरिएका किशोरहरूलाई रक्सौलस्थित दुई वटा निजी अपार्टमेन्टमा राखिएको थियो । वीनमेकर नामक नक्कली कम्पनीको नाममा उनीहरूलाई नेटवर्किङ व्यवसायको तालिम दिइँदै थियो।
प्रारम्भिक अनुसन्धानबाट ती किशोरहरू सबै १८ वर्षभन्दा कम उमेरका रहेका र प्रलोभनमा परी भारत पुगेको पुष्टि भएको हो । पक्राउ परेपछि उनीहरूलाई दिल्लीस्थित एक सुधार गृहमा राखिएको थियो । उनीहरूलाई किन इन्डिया संस्थाका प्रतिनिधि नवीन जोशी र राष्ट्रिय बाल अधिकार परिषद्, मधेस प्रदेशका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोको सक्रियतामा उद्धार गरिएको हो ।