भक्तपुर । स्थानीयस्तरमै आफ्ना नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न चाँगुनारायण नगर अस्पताललाई भौतिक पूर्वाधारदेखि उच्च प्रविधिमैत्री बनाउँदै आएको चाँगुनारायण नगरपालिकाले थाइराइडदेखि शरीरमा हुने विभिन्न भिटामिनको कमीको परीक्षण सुरु गरेको छ ।
सहरदेखि गाउँघरका बासिन्दामा पछिल्लो समय थाइराइडको रोग बढ्दै गएको, शरीर कमी भएको भिटामिनका बारेमा जानकारी नपाउँदा रोग पाल्दै बस्नुपर्ने र थाइराइडको परीक्षण एवं औषधि लिन भक्तपुरदेखि काठमाडौँका अस्पतालसम्म नै धाउनुपर्ने समस्या नगरपालिकाले अन्त्य गरेको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रमअन्तर्गत रु १० लाख बराबरको एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट मेसिन हस्तान्तरणपछि चाँगुनारायण नगर अस्पतालले यो सेवा विस्तार गरेको हो । कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीले चाँगुनारायणका नगरप्रमुख जीवन खत्रीलाई एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट मेसिन बुधबार हस्तान्तरण गरेसँगै चाँगुनारायण अस्पतालले आफ्नो नगर अस्पतालमा यो सेवा विस्तार गरेको हो ।
कागेश्वरीका नगरप्रमुख कार्कीले चाँगुनारायण नगरवासीलाई गुणस्तरीय सेवा विस्तार गर्न आफ्नो नगरपालिकाले पनि प्रविधि हस्तान्तरण गर्न पाएकामा खुसी व्यक्त गर्दै यसले स्थानीय सरकारबीचको अन्तर नगर सम्बन्धलाई घनिष्ठ र मजबुद् बनाउने बताए ।
कार्यक्रममा चाँगुनारायणका प्रमुख खत्रीले नगर अस्पताललाई थप प्रविधिमैत्री बनाउन कागेश्वरी मनोहराको मेसिन सहयोगले तत्कालै सेवा विस्तार गर्न सहज भएको बताउँदै अब नगरवासीले यस्ता सेवा लिन टाढा धाउनु नपर्ने बताए।
दुई स्थानीय सरकारकाबीचको मजबुद सम्बन्धले एकापसमा सहयोगको भावना बढाएको बताउँदै चाँगुनारायणवासीलाई नगरपालिकाले नि:शुल्क अक्सिजन वितरण गर्दै आएको, प्रसूतिदेखि अधिकांश सेवा आफ्नै अस्पतालमा विस्तार गरेको र अस्पताल आउन नसक्ने बिरामीका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको बताए ।
उनले उपचार नपाएर चाँगुनारायणवासीले ज्यान गुमाउनुपर्ने अवस्था नरहेको बताउँदै चाँगुनारायण अस्पताललाई सुविधासम्पन्न र प्रविधिमैत्री बनाउँदै लगेको बताए ।