काठमाडौँ । नेपाली काँग्रेसले नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ नरहेको बताएको छ ।
संघीय संसद्को छैटौँ अधिवेशनको प्रारम्भमा प्रतिनिधि सभामा दलको तर्फबाट बोल्दै काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो बताएका हुन् ।
‘आजको विश्वमा सम्बन्धित देशको करदाताले तिरेको कर सोही देशको जनताको हितमा खर्च गर्नुपर्छ भन्ने मान्यता विकसित भइरहेको अवस्थामा हामीले पनि वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन’ घिमिरेले भने ।
जिडिपीको ४०र४२ प्रतिशत ऋण भार हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले भने, ‘तर त्यो ऋण कति प्रतिफल युक्त आयोजनामा खर्च भयो महत्त्वपूर्ण हुन्छ ।’
नेपाल सम्भावनायुक्त मुलुक भएको र आन्तरिक सम्भावनालाई ख्याल गर्नुपर्नेमा उनको जोड छ । छिमेकी मुलुक भारत र चीनबाट नेपाले लन सक्ने जति फाइदा लिन नसकिरहेको समेत उनले बताए ।
‘कृषि उद्योग र जलस्रोत क्षेत्रमा छिमेकी मुलुकबाट लाभ लिन सक्दछौँ । यी मानव सागरबाट हामीले पर्यटनमा लाभ लिन सक्छौँ’ उनले भने ।
ठूला परियोजना नेपाल ल्याउन सक्ने यस निम्ति अन्तराष्ट्रिय लगानी आकर्षित गर्नुपर्ने उनले बताए । नेपालमा केही भएको छैन भन्ने भाष्य गलत रहेको भन्दै उनले थप प्रगतिका लागि अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
व्यवस्था मात्रै परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्नेहरू गलत रहेको उनले बताए । परिवर्तनको अवस्था तथ्यमै देखिने बताए ।