काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा जे पनि हुनसक्ने बताएका छन् । गोरखा बारपाक पुगेका ‘प्रचण्ड’ले गोरखाबाट निर्वाचित भएको आफू प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री एकै पटक भएको स्मरण गरेका छन् ।
पाण्डे काँग्रेसबाट गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन् । गत चुनावमा काँग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएको थियो ।
प्रचण्डले भने, गोरखाबाट निर्वाचित भएका उहाँ मुख्यमन्त्री र म प्रधानमन्त्री सँगै बन्यौँ । यहाँ फेरि केही काम बढाउने तयारी गर्दागर्दा हामी दुइटा पार्टी दुईतिर भयौँ । त्यसको समीक्षा त म अहिले गर्दिनँ । राजनीति हो के–के हुँदै जान्छ अहिले भन्न सकिँदैन । भोलि अर्कै हुन पनि सक्छ ।’
उनले गोरखाको विकासका लागि मुख्यमन्त्री पाण्डेसँग आफ्नो कुराकानी भइरहेको बताए ।
उनले थपे, गोरखाको विकासको निम्ति सरकारमा सँगै भएपनि नभए पनि हामीले कसैलाई भेदभाव नगरी निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार काम गर्नुपर्छ भन्नेमा तयार छौँ । उहाँ र मैले गरेको चुनावी प्रतिबद्धता पूरा गर्न हामी तयार छौँ ।
उनले प्रचण्डले जनताको भावना अनुसार गोरखामा काम गरेन भन्यो भने आफूलाई अन्याय हुने भन्दै कामको फेहरिस्त सुनाए ।