काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने बताएका छन्।
सरकार गठन भएको दश महिनासम्म पनि सम्पत्ति सार्वजनिक नभएकामा उनले आपत्ति जनाएका हुन् ।
प्रतिनिधि सभाको आजको बैठकमा दलीय आधारमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव पुनले वर्तमान सरकारले आम जनताका निराशा र असन्तुष्टि हटाउन नसकेको आरोप लगाए । सरकारले प्रतिपक्षी दलसँग प्रतिशोध साँध्ने काम गरेको उनको भनाइ थियो ।
सांसद पुनले सरकार गठनका क्रममा भनिएको संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न नसकेको टिप्पणी गरे । उनले नेपाल भूकम्पको उच्च जोखिमका रहेको उल्लेख गर्दै सम्भावित विपत्को पूर्वतयारीमा यथेष्ट ध्यान दिएर काम गर्न सरकारको ध्यानाकर्षण गराए ।
साथै रुकुपश्चिम, जाजरकोट र बझाङमा गत वर्ष गएको भूकम्पका पीडितलाई राहतको व्यवस्था गर्दै पुन:निर्माणको कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् ।
भारतको जम्मु कश्मीर क्षेत्रमा पर्यटकप्रति लक्षित गरी भएको हिंसात्मक आक्रमणको सांसद पुनले भर्त्सना गरे । उनले सडकमा आन्दोलनरत शिक्षकको माग पूरा गर्ने विधेयक चाँडो संसदबाट पारित गर्न माग गरे । संघीयता कार्यान्वयनसँग सम्बन्धित संघीय प्रहरी विधेयक र निजामती सेवा विधेयकसहित लामो समयदेखि रोकिएका विधेयक पारित गर्नुपर्नेमा सांसद पुनले जोड दिएका छन् ।