चितवन । चालु आर्थिक वर्षको साउनयता स्वास्थ्य बीमार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको संघीय भरतपुर अस्पतालले बीमाले तोकेका २४ किसिमका परीक्षण बन्द गरेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको हो ।
बीमा बोर्डबाट पाउनुपर्ने भुक्तानी रु. ५० करोड नाघेपछि सञ्चालनमा कठिनाइ भएसँगै ती परीक्षण बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने, “यही वैशाख १ गतेदेखि रोकिएका ती परीक्षण अत्यावश्यक परीक्षण होइनन् ।”
यसअघि बीमा बोर्डले तीन महिनामा एक पटक मात्रै परीक्षण गर्न पाउने गरी नीति बनाएको थियो । भिटामिन डी, भिटामिन १२ लगायत परीक्षण बीमामार्फत गर्न रोकिएको हो । पौडेलले भने, “अत्यावश्यक परीक्षण हामीले रोकेका छैनौँ । ती परीक्षणको किट एवं केमिकल खरिद महँगो हुने हुँदा परीक्षण पनि खर्चिलो भएकाले रोकिएको हो ।”
बीमा बोर्डले भुक्तानी नदिँदा, फार्मेसीमा औषधि ल्याउने कम्पनी, रिएजेन्ट (केमिकल) र प्रयोगशालामा प्रयोग हुने अन्य सामग्री खरिदमा समस्या भएको पौडेलले बताए । उनका अनुसार फागुनदेखिको रु. १२ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ । परीक्षण सामग्री उपलब्ध गराउने कम्पनीले अस्पताललाई समान दिन नसक्ने भनेपछि परीक्षण रोकिएको उनको भनाइ छ ।
पौडेलका अनुसार अस्पताल सञ्चालनका लागि अहिले तत्काल रु. २५ करोड भुक्तानी भयो भने अस्पतालको आर्थिक गतिविधि सञ्चालन गर्न सहज हुन्छ । बीमा बोर्डबाट भुक्तानी नआउँदा अस्पतालका कर्मचारीलाई तलब खुवाउन कठिन हुन थालेको उनले बताए ।
उनले भने, “यस्तै अवस्था रहे फर्मेसीमा औषधि र प्रयोगशालामा आवश्यक परीक्षण गर्न कठिन हुन्छ ।” अस्पतालमा अहिले दैनिक एक हजार ५०० बढी स्वास्थ्य बिमाका बिरामीले उपचार लिँदै आएका पौडेलले जानकारी दिए । अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी बिमाका बिरामी रहने गरेकाले पाउनुपर्ने भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमा कठिन भएको उनले उल्लेख गरे ।
अस्पतालको बीमाकार्यक्रम संयोजक लिलाधर पौडेलका अनुसार गत आवको रु ३७ करोड भुक्तानी भए पनि चालु आवको अहिलेसम्म भुक्तानी भएको छैन । अस्पताल विकास समितिको पैसाबाट बीमाका बिरामीलाई सेवा दिइएको बताउँदै उनले यही अवस्था रहे अस्पताल आर्थिक संकटमा धकेलिने उल्लेख गरे ।
नेपालमा सबैभन्दा बढी बिमाका बिरामीको उपचार यहाँ गराउने गरिन्छ । अस्पतालले मासिक रु. छ करोड बढीको स्वास्थ्य बिमाको उपचार सेवा दिँदै आएको बिमा संयोजक पौडेलले जानकारी दिए । भरतपुर अस्पताल स्वास्थ्य बिमामा देशकै उत्कृष्ट र नमुना मानिन्छ । देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बिमा दाबी प्रक्रिया बुझ्न यहाँ कर्मचारीहरू आउने गर्दछन् ।
समस्या देखिएका अस्पतालका कर्मचारीहरूलाई बोर्डले यहाँ जान सुझाउने गरेको संयोजक पौडेलको भनाइ छ । देशका धेरै अस्पतालबाट आएका कर्मचारीलाई बिमा दाबी भुक्तानीका बारेमा थप प्रशिक्षित गरेर पठाउने गरिएको उनले जानकारी दिए ।