काठमाडौँ। राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट शुक्रबार साझ नेपाल आइपुगेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले स्टुअर्टलाई गत चैत १५ गते नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । ल आगामी २ वर्ष नेपाली टोलीसंग रहनेछन् ।
५६ वर्षीय स्टुअर्ट अष्ट्रेलियाका पूर्वक्रिकेटर हुन् । उनले सन् १९९४ देखि १९९९ सम्म अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले अष्ट्रेलियाका लागि एउटा टेष्ट र ५४ ओडिआई खेलेका थिए । उनले थुप्रै घरेलु लिग खेलेका छन् ।
स्टुअर्टले सन् २०११ बाट श्रीलंकाको सहायक प्रशिक्षकको रुपमा प्रशिक्षणको यात्रा सुरु गरेका थिए । हालसम्म उनले श्रीलंका, वेस्टइन्डिज, बंगलादेश, अफगानिस्तान र अमेरिकामा प्रशिक्षकको रूपमा काम गरिसकेका छन् ।
उनकै प्रशिक्षणमा अमेरिकाले सन् २०२४ को टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सुपर-८ यात्रा तय गरेको थियो । पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो ।
सन् २०२४ को अक्टोबरमा भएको आइसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डसँग १० विकेटको हार बेहोरेपछी अमेरिकी क्रिकेट बोर्डले स्टुअर्टलाई मुख्य प्रशिक्षकको पदबाट हटाएको थियो । त्यसपछि उनी नेपाली टोलीको प्रशिक्षक बन्न आइपुगेका हुन् ।