गजल
थाहा छैन त्यो कदम तिमीले किन चालेकी थ्यौ
अमृत दिँदा पनि त्यसमा विष आफै हालेकी थ्यौ ।
मैले हार मानेर नै तिम्रो खुसी रोजेको हुँ
बनाएको त्यो सपनाको महल पनि त ढालेकी थ्यौ ।
घर जल्यो भन्दै राहत थाप्दै छ्यौ रे सडकमा
पानी माथि नै पनि त आफै आगो बालेकी थ्यौ ।
याद नै यौटा यस्तो विष हो तड्पाउँछ सधैँ सधैँ
आँसु पुछ्दै चुम्यौ तस्बिर पहिले कतै फालेकी थ्यौ ।
साथै रहे देउतालाई नि घृणा गर्छ मान्छेको जात
मेरो प्रकाश छेक्न मनका कुना कुना टालेकी थ्यौ । लेखक: मदन शर्मा