काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका-८ सुन्दर बस्तीमा बसोबास गर्ने ६० वर्षमाथिका ५० जना ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जनमैत्री युवा क्लब र ‘नेक्स्ट स्मार्ट सपिङ’ को सहकार्यमा पुस्तान्तरण नेपालले आज स्वास्थ्य परीक्षण आयोजना गरेको हो ।
परीक्षणका लागि आएका अधिकांश ज्येष्ठ नागरिकमा मधुमेह र उच्च रक्तचापको समस्या देखिएको परीक्षणमा सहभागी डा. विन्दु पाण्डेले जानकारी दिइन् । उनले भनिन्, “शिविरमा ६० देखि ९० वर्ष उमेरका ५० जना आउनुभएको थियो । उहाँहरूमा सुगर, हड्डी खिइएको, प्रेसरलगायत समस्या देखियो । कतिपयले नियमित औषधि सेवन गरिरहनुभएको रहेछ । धेरै जसोका छोराछोरी रोजगारीका क्रममा विदेशमा रहनुभएकाले नियमित परीक्षण नगरेको पायौँ ।”
पुस्तान्तरण नेपाल ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा प्रदान गर्ने संस्था हो । ‘सम्मानित बुढ्यौली निर्माण’ भन्ने उद्देश्यले सञ्चालित संस्थाले ज्येष्ठ नागरिकका लागि यातायात, स्वास्थ्य, मनोरञ्जन तथा दिवा सेवा प्रदान गर्दै आएको अध्यक्ष प्रतिवेदन वैद्यले जानकारी दिए ।
हालै स्थापना भएको यस संस्थाले भविष्यमा ज्येष्ठ नागरिकको सहज जीवनयापनका लागि ‘ज्येष्ठ नागरिक भिलेज’ स्थापना गर्ने लक्ष्य राखेको उनले बताए ।