काठमाडौँ । गत चैत १५ गते काठमाडौँको कोटेश्वरस्थित भाटभटेनीको लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको आरोपप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
गत चैत १५ गते राजतन्त्र पक्षधरहरूले तीनकुनेमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रदर्शनकारीले कोटेश्वरको भाटभटेनीमा लुटपाट गरेका थिए । उक्त कार्यमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा समेत संलग्न रहेको र पक्राउ परेको राप्रपाका अध्यक्ष लिङ्देनले आरोप लगाएका थिए ।
यही वैशाख १४ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले सहमहामन्त्रीका छोरा पक्राउ समेत परेको र नेताको छोरा भन्ने थाहा पाएपछि छाडिएको बताएका थिए ।
उक्त भनाइको काँग्रेसले विरोध गरेको हो । आइतबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै काँग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले आपत्ति जनाएका हुन् ।