काठमाडौँ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई आग्रह गरेकी छन् ।
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गरेपछि सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले सत्य र न्यायको पक्ष लिन पार्टीको सदस्यता त्याग्न अनुरोध गरेकी हुन् ।
विधिसम्मत बस्ने कि अझै पनि कुनै राजनीतिकर्मी वा पार्टीको छत्रछायामा बसिरहने भन्ने विषयमा छान्न अनुरोध गरिन् ।
बुईमा चढाएर सत्तामा पुर्याएका नेताहरूले नै दमन गरेको उनको भनाई छ । ‘जो नेताहरूलाई तपाईँहरूले बुईमा चढाई-चढाई सबैतिर पुर्याउनुभयो,आज वहाँहरूले तपाईँहरू माथि गरेको दमनले उहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला,’ उनले लेखेकी छन् ।
सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि शिक्षकहरूलाई कसरी हेर्छन् भन्नेबारेमा आजको घटनाबाट प्रस्ट भएको बताइन् ।
पहिले देशको व्यवस्था परिवर्तन गर्न विभिन्न काल खण्डमा योगदान दिएको बताउँदै व्यवस्था परिवर्तन गर्दा देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न असफल भएको बताइन् । अब यो संस्कार परिवर्तन गर्नका लागि शिक्षकहरू सामेल हुनुपर्ने बताइन् ।