काठमाडौँ । नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र लयमा फर्कँदै गरे पनि चुनौती कायमै रहेको बताएकी छन् ।
आइतबार राष्ट्र बैंकको ७० औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
कामु गभर्नर ढुंगानाले भनिन्, ‘आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भएको छ । उच्च तरलता एवम् न्यून ब्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवम् आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू कायम नै रहेका छन् ।’
उनका अनुसार पछिल्लो समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरू देखा परेका छन्। एकातिर जारी रुस–युक्रेन युद्ध अन्त्य हुने ठोस आधार हालसम्म नदेखिँदा आपूर्ति व्यवधान हट्ने सम्भावना अनिश्चित हुँदै गएको छ भने मध्यपूर्वमा जारी द्वन्द्वको अन्त्य अनिश्चित रहेको छ ।
यसका साथै, संयुक्त राज्य अमेरिकाले विभिन्न मुलुकहरूका लागि नयाँ भन्सार दर घोषणालगायत व्यापार नीतिमा परिवर्तन गरेकाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढेको छ । यस्ता बाह्य कारणले गर्दा मुद्रास्फीति, वैदेशिक सहायता एवम् बाह्य क्षेत्र व्यवस्थापनमा चुनौती थपिने देखिएको छ ।
अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको छ । मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैंकीङ क्षेत्रबाट प्रवाहित कर्जा बिस्तारले समेत गति लिन थालेको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रयमासको आर्थिक वृद्धिको तथ्यांकले समेत यसको पुष्टि गरेको उनले दाबी गरिन् । पछिल्लो समय भएका कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको छ । यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा रहेको उनले जानकारी दिइन् ।
‘नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको छ । विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको छ । विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिति बढेको छ’, कामु गभर्नर ढुंगानाले भनिन् ।
उनका अनुसार वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको बिस्तारमा पछिल्लो समय उल्लेख्य प्रगति भएको छ । देशका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ भने उल्लेख्य रूपमा भएको शाखा विस्तारका कारण वित्तीय पहुँचमा वृद्धि भएको छ ।
यस बैंकले गरेको नीतिगत सहजीकरण, पूर्वाधार विकास र सुरक्षित, सजिलो एवम् सस्तो भुक्तानी प्रणालीका उपकरणले गर्दा डिजिटल भुक्तानीको प्रयोग उच्च दरमा बढेको छ । अन्तरदेशीय भुक्तानी प्रणालीको अन्तर आबद्धता समेत प्रारम्भ भएको उनले जानकारी दिएकी छन् ।