काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) दिपक थापाले प्रहरी कर्मचारीहरूलाई नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकता दिन र आफूले पाएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिएका छन्।
आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा सरुवा भई नयाँ कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूसँग निर्देशन कार्यक्रम गर्दै आइजिपी थापाले उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै यस्तो निर्देशन दिएका हुन्।
उनले समाजमा देखिएका नयाँ चुनौतीहरूलाई अवसरका रूपमा लिएर उच्च व्यावसायिकता प्रदर्शन गर्न जोड दिए।
व्यक्तिगत स्वार्थभन्दा संगठनको हितलाई केन्द्रमा राखी, चेन अफ कमाण्डभित्र रही, सामूहिक प्रयासमार्फत प्रहरी संगठनलाई अझ बलियो बनाउनुपर्ने थापाले बताए।
साथै, संगठनका नीति र निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संगठनका लक्ष्यहरू हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारी सक्रिय हुनुपर्ने उनले उल्लेख गरे।
लागूऔषध कारोबार, साइबर अपराध र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा विशेष चनाखो रहनुपर्ने आइजिपी थापाले स्पष्ट पारे।
तस्करी नियन्त्रणमा समेत प्रभावकारी र परिणाममुखी ढंगले परिचालन हुन निर्देशन दिँदै उनले नयाँ जिम्मेवारीलाई नवीन ढंगले निर्वाह गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई आग्रह गरे।
थापाले सुरक्षासम्बन्धी कार्यक्षेत्र र विपद् व्यवस्थापनमा सरोकारवाला निकायहरूसँग सहकार्य र समन्वय गरेर काम गर्नुपर्नेमा समेत जोड दिए।