काठमाडौँ । पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनमा नेकपा एमालेका सांसद गोकुल बास्कोटाको फरक मत राखेका छन् ।
संसद्को सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न संसदीय उपसमिति बनाएको थियो ।
गत असार १४ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले सोमबार मूल समितिमा अध्ययन प्रतिवेदन बुझाएको छ ।
जसमा उपसमितिका सदस्य बास्कोटाले फरक मत राखेका हुन् ।
‘नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच भएको सम्झौता अनुरूप अगाडी बढेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा प्रारम्भिक लागत अनुमान १४५ मिलियन अमेरिकी डलरबाट परियोजनाको लागत २१५.९६५ मिलियन अमेरिकी डलर (भ्याट बाहेक) कायम गर्न उपयुक्त हुने भनी तत्कालीन मन्त्रिपरिषद्ले बनाएको कार्यदलले के आधारमा लागत अनुमान बढाइयो भन्ने बास्कोटाको प्रश्न छ ।
राजस्व छुट सम्बन्धी विवाद, निर्माणका कतिपय कार्यहरू सम्पन्न नभएको र प्राविधिक परीक्षणसमेत पूर्ण रूपमा नभएको अवस्थामा विमानस्थल उद्घाटन र हस्तान्तरण कुन आधारमा, किन र कसरी गरियो ? भन्ने उनको अर्को प्रश्न छ । यी विषयमा समेत एकिन गरी आवश्यक कानुनी कारवाहीको लागि सिफारिस गर्नुपर्ने बास्कोटाको थप राय रहेको छ ।
उपसमिति सांसदहरू बास्कोटासहित राजन दाहाल, अर्जुननरसिंह केसी, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य थिए ।
सांसदहरूका अनुसार विमानस्थल निर्माणमा राज्यको अर्बौँ रुपैयाँ लगानी भएको तर प्रतिफल दिन नसकेपछि अध्ययन गरिएको हो । दातृ निकायसँग ऋण लिएर राष्ट्रिय गौरवमा समावेश गरिएका यो आयोजनालाई सरकारले निकै महत्वका साथ निर्माण गरेको हो ।
२४ अर्ब लगानी भएको पोखरा विमानस्थल २०७९ पुसमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो ।
प्रतिफल नदिएपछि विमानस्थल बनाउन लिइएको ऋणको चुक्ता गर्ने विषयलाई लिएर समेत कतिपयले प्रश्न गर्दै आएका छन् । सरकारी अधिकारीहरू यी विमानस्थल बनाउन लिएको ऋण सम्बन्धित देशले अनुदानमा परिणत गरिदिए हुन्थ्यो भन्ने आग्रह गर्छन् ।
सांसदहरूका अनुसार निर्माण पूर्व पर्याप्त अध्ययन भएरनभएको र निर्माणमा आर्थिक पारदर्शिताका विषयमा केही गलत भएको तथ्य संकलन गरेका छन् ।
उपसमिति संयोजक लिङ्देनले प्रतिवेदन बुझाउन आयोजना गरेको पत्रकार सम्मेलन सकिए लगत्तै एमाले सांसद बास्कोटाले पत्रकार सम्मेलन गरेका थिए ।
‘प्रतिवेदन अधुरो भयो । सबै बैठकमा म सहभागी थिइनँ, एउटा बैठकको भ्रम चलाइएको छ । हस्ताक्षर गरेन भनिएको छ, सही गर्न नै भनिएकै छैन भने कसरी सही हुन्छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘सही गर्ने कि नगर्ने भन्ने आफ्नो इच्छाले गर्ने हो । यो अन्तिम निष्कर्ष होइन भन्ने लागेर केही पनि होइन, छ पनि छ ।’