काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चालू आर्थिक वर्षको बजेटको विरोध गरेर मुलुकको अर्थतन्त्र सुधार भयो भन्नु उचित कुरा नभएको बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको प्रधानमन्त्री र अर्थमन्त्रीले विरोध गर्ने गरेको भन्दै त्यही बजेटका आधारमा भएको आर्थिक प्रगतिको स्वामित्व लिने कुरा उचित नभएको बताए ।
उनले प्रधानमन्त्री र अर्थमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा इमान्दारिता नदेखाएको तर्क गरे । पुनले आफू अर्थमन्त्री हुँदा ल्याएको बजेटले नयाँ चरणको आर्थिक सुधारलाई केन्द्रमा राखेका कारण लक्ष्य अनुसारको आर्थिक वृद्धिदर नजिक पुगेको तर्क गरे ।
सरकारले इमान्दारीपूर्वक त्यसलाई कार्यान्वयन गरेको भए मुलुकको आर्थिक वृद्धिदर निकै राम्रो हुने उनको भनाइ छ । पुनले सरकारले बिचौलियाको स्वार्थ पुरा हुने बाटोमा मुलुकको अर्थतन्त्रलाई हिँडाएको आरोप लगाए । उनले बजेट ठिक भएन भन्ने अर्थमन्त्रीको अभिव्यक्ति पनि ठिक नभएको उल्लेख गरे ।
अघिल्लो सरकारले ल्याएको बजेटलाई परिमार्जन गर्ने आँट पनि नगर्ने र सरकारमा बसेर बजेटको विरोध गर्नु राजनीतिक नैतिकता नभएकाले नैतिक रूपमा अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखेका छन् ।