काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दुई कार्यकालपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।
हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानअन्तर्गत बर्दियाको राजापुरमा गरिएको सभामा उनले जनताका अधिकार स्थापित गर्न पनि आफू ५-७ वर्ष अर्थात् दुई कार्यकाल पार्टी नेतृत्वमा बस्न जरुरी देखिएको बताए ।
‘अझै ५(७ वर्ष म मर्न हुन्न, त्यसपछि त जिम्मेवारीको नेतृत्व लिन मान्छे तयारी अवस्थामा साथीहरू हुनुहुन्छ नै, जनताको अधिकार स्थापित गर्न, हामीले थालेका केही अभियान टुंगाउन र छिन्नभिन्न माओवादी घटक जुटाउन मेरो काम बाँकी छ’,प्रचण्डले भने ।
पछिल्लो चरणमा पार्टीमा आएको सकारात्मक सन्देशले आफूलाई ऊर्जा आएको उनले सुनाए ।
‘दुई वर्ष मेहनत गरियो भने ०६४ भन्दा राम्रो नतिजा आउने सपना देखेको छु, त्यसैका आधारमा म मैदानमा आएको छ, तर अब सबै माओवादी मिल्न जरुरी छ । विगतमा भएका कमजोरी सबै छाडेर तपाईँहरूसँग माफी माग्न आएका हौँ’, दाहालले भने ।
जागरण अभियानमा आफूले यो बीचमा गरेका गल्ती स्वीकार गर्दै ‘प्रचण्ड’ले ती कमजोरीको उपचार गर्न जनतासमक्ष आएको उनले दोहोर्याए ।
‘हामीलाई अलिकति रोग लागेकै हो, हाम्रो उद्देश्यबाट विचलित भएकै हौँ, उपचारका लागि जनतासँग आएका छौँ, यसको उपचार अन्त गएर पाइँदैन, झापाबाट बर्दिया आउँदासम्म धेरै रोग ठिक भइसकेको छ । अब कन्चरपुरसम्मको हुलाकी सडक र पहाडी बाटोबाट इलाम पुगेपछि सबै ठिक हुनेछ ’ उनले भने ।
संघ र प्रदेशमा सरकारमा नभए पनि स्थानीय सरकारबाट जनताका माग पूरा गरेको उनको जिकिर छ ।
प्रचण्डले भने, ‘संघमा सरकार छैन, प्रदेशमा छैन, स्थानीयमा १२३ सरकार हाम्रो नेतृत्वमा छन्, यसैलाई आधार मानेर जाने हो । हाम्रो नेतृत्वको स्थानीय सरकार छन् ती सबै ठाउँ देशभरमा उत्कृष्ट छन्, यसैबाट देखिन्छ हाम्रो काम गर्ने तरिका ।’
प्रचण्डले आउने निर्वाचनमा काँग्रेस-एमालेको बैशाखी नटेक्ने तर माओवादी घटकहरूलाई मिलाएर बताए ।
‘अब कसैको बैशाखी टेकेर जाने होइन, देशभरमा माओवादीले जितेका पालिकाहरूको नतिजा राम्रो देखिएका उदाहरण प्रशस्त छन् । हामीले अलिकति मेहनत गरियो भने सबै नेतृत्व गरेका ठाउँलाई १ नम्बर बनाउन सकिन्छ भन्ने आधार देखिएका छन् । उपनिर्वाचनको नतिजाले एक्लै भिड्ने प्रष्ट संकेत आयो, लुम्बिनीमा काँग्रेस एमाले मिलेर लडेपनि हामीले जितेर देखायौँ, स्ववियू निर्वाचनमा तरक्की नै भयो, विद्यार्थी तहमा आएको यो उत्साहले हामीलाई उत्साह थपेको छ, माओवादी विरुद्ध ठूला पार्टीको गठबन्धन हुँदा राम्रो नतिजा आयो ।’
उनले बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने कुरा आफू र माओवादीले कहिल्यै नगरेको तर गलत प्रचार गरिएको बताए ।
‘गलत प्रचार भएको रहेछ । बाँके बर्दिया हाम्रो कारणले अन्त जाँदैन, यो हामीले होइन जनताले गर्ने फैसला हो भनेको हुँ गलत अर्थ लगाइएको रहेछ, तपाईँको मतभन्दा बाहिर म र मेरो पार्टी जाँदैन’ उनले भने ।
यो सँगै माओवादीको जागरण अभियान लुम्बिनी प्रदेशमा सकिएको छ । लुम्बिनीमा तीन पटक गरी उनले अभियान सकेका छन् । प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी ६ जिल्लामा हुलाकी राजमार्ग रहेको छ ।