काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सीप मेला २०८१ बाट अटोमोबाइल्स विधामा सीप सिकेका ५ जना प्रशिक्षार्थीहरूलाई ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने भएको छ।
थिगो कम्पनीले ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउन मेलामा सहभागी १० जना उम्मेदवारलाई अन्तर्वार्तामा बोलाएकोमा ५ जना छनोट भएका छन् । ट्रेनिङका लागि छनोट भएका प्रशिक्षार्थीले मासिक १८ हजार रुपैयाँ पारिश्रमिकसहित प्रशिक्षण प्राप्त गर्नेछन् ।
आज काठमाडौं महानगरपालिका, चाँगु नारायण फाउन्डेसन र थिगोका बिच यस सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा महानगरपालिकाको सामाजिक विकास विकासका प्रमुख समीक्षा निरौला, फाउन्डेसनका अध्यक्ष मनिराज खत्री र थिगोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता आगामी ६ महिनाका लागि हो । प्रशिक्षणमा जानेहरूले वैशाख १६ गतेदेखि काम थालनी गर्नेछन् ।
मेलाबाट अटोमोबाइल्स विधामा स्नातक भएका १ सय जना प्रशिक्षार्थीहरूमध्ये २० जना प्रशिक्षार्थीहरूले आफ्नै प्रयासबाट रोजगार पाएको महानगरले जनाएको छ । यस्तै ३ जना स्वरोजगार भएका छन् । अन-दि-जब ट्रेनिङमा रुचि राख्ने ५१ जना रहेका थिए ।
५१ जनाहरूबाट व्यक्तिगत विवरण (सिभी) लेखन कार्यशाला आयोजना गरेर व्यक्तिगत विवरण तयार गर्न, व्यक्तित्व विकास गर्न र अन्तर्वार्तामा प्रस्तुत हुने शैलीका विषयमा प्रशिक्षण प्रदान भएको थियो ।
उक्त कार्यशालामा सहभागी भएका ३० जना प्रशिक्षार्थीहरूका व्यक्तिगत विवरणहरू बीाइडी, सिजी मोटर्स, हुन्डाइ (लक्ष्मी ग्रुप), भिजी मोटर्स, सीप्रदी (टाटा मोटर्स), दीपल अटोमोबाइल्स, स्याकार ट्रेडिङ इन्टरप्राइजेज र थिगो (दिगो)सहित २८ वटा कम्पनीमा पठाइएको महानगरले जनाएको छ ।